Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘जात्रै जात्रा’ निर्देशकले ‘भद्रगोल’ टिमको ‘फनफनी’ गर्लान्?

फिल्मीखबर, काठमाण्डौ, 2019/06/09
सर्लाहीका रैथाने प्रदीप भट्टराईले हाल प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ बाट सफल निर्देशकको रुपमा ह्याट्रिक गरेका छन् । लामो समय मह सञ्चारमा रहेर आफूलाई निर्देशकको रुपमा निखारेका प्रदीप निर्देशित डेब्यू फिल्म ‘जात्रा’ नै सुपरहिट भएको थियो । यसपछि उनले ‘शत्रु गते’ को क्याप्टेनसिप सम्हाले । यो फिल्म पनि सुपरहिट भयो । भलै, यस फिल्ममा उनले बजारमुखी भएको आरोप खेप्नुपर्‍यो । 
 
शुक्रवारबाट चौथो हप्तामा प्रदर्शनरत फिल्म ‘जात्रै जात्रा’ ले पनि घरेलु बजारबाट लगानी सुरक्षित गरिसकेको छ । दर्शक र समीक्षक दुबैले फिल्मको प्रशंसा गरेका छन् । एकपछि अर्को सफल फिल्म दिइरहेका निर्देशक भट्टराईलाई अहिले गिनेचुनेका ब्यानरबाट फिल्मको ओहिरो लागेको छ । अहिलेका जल्दाबल्दा अभिनेता अनमोल केसीदेखि प्रदीप खड्कासम्म उनीसँग काम गर्न राजी छन् । तर, उनी झटपट निर्णय लिने निर्देशकमा पर्दैनन् । 
 
 
अहिले उनलाई बक्सअफिसको हिट मेशिन भनिन थालिएको छ । जुन फिल्म छोयो त्यही हिट । आफूले निर्देशन गर्ने फिल्मको कथा पनि आफैं तयार पार्ने उनको चौथो फिल्म कुन हुनेछ अहिलेसम्म निधो भइसकेको छैन । अभिनेता भुवन केसी उनलाई होम प्रोडक्सनको फिल्ममा लिन दौडिरहेका छन् । निर्देशक प्रदीप भने मौन छन् । दुईबीच पटक-पटक भेट भइसकेको छ । प्रदीपलाई फकाउन भुवनले हरेक प्रयास गरिरहेका छन् । 
 
निर्देशक भट्टराई भने ‘जात्रा’ टिमसँगै मिलेर नयाँ फिल्म बनाउने सोचमा छन् । यसबीच, उनले हास्यटेलिसियल ‘भद्रगोल’ को टिमले निर्माण गर्न लागेको फिल्म ‘फनफनी’ निर्देशन गर्न लागेको खबर बाहिरिएको छ । प्रदीपले फिल्म अफर भए पनि आफूले गर्ने/नगर्ने कुनै पक्का नभएको फिल्मीखबरसँगको कुराकानीमा बताएका छन् । हाल ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा रहेका उनले नेपाल फर्किएपछि टुंगो लाग्ने बताए । 
 
उनी भन्छन्, ‘फिल्म गर्ने वा नगर्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । केही दिनमा स्वदेश फर्किएपछि उहाँहरुलाई निर्णय दिनेछु ।’ उनले फिल्म गर्ने सम्भावना तर्फ संकेत गर्दै भने- ‘केही कुरामा छलफल गर्नुपर्ने छ । त्यसमा दुबै पक्ष सहमत भयौं भने टिमअप हुनसक्छ ।’ यसअघि निश्चल बस्नेतले ‘फनफनी’ निर्देशन गर्ने फाइनल भएको थियो । तर, उनले विभिन्न कारण देखाउँदै फिल्मबाट हात झिकिसकेका छन् ।
Most Visited News (monthly)