Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पराजीत भएपछि सरिताले भनिन्, ‘चुनावमा हार्नु जीवन हार्नु हैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/09
‘सिरियल क्विन’ की उपाधि पाएकी कलाकार सरिता लामिछाने नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि चुनावी मैदानमा थिइन् । उनका प्रतिद्वन्द्धी थिए, अभिनेता रवीन्द्र खड्का । सामाजिक सञ्जालमार्फत् महिला कलाकारहरुले सरितालाई खुलेरै समर्थन गरेका थिए । सामाजिक सञ्जालमा उनलाई समर्थन गर्ने कलाकारको भीड ठूलो थियो । नयाँ पुस्ताका कलाकारमाझ रवीन्द्रभन्दा सरिता बढी परिचित थिइन् । 
 
 
तर, जित रवीन्द्र खड्काको भएको छ । उनले ५७ मतअन्तरले सरितालाई हराएका हुन् । खड्काको पक्षमा २१८ र लामिछानेलाई १६१ मत झरेको थियो । अध्यक्षमा खड्कामात्र नभएर उनको प्यानल नै सानदार मतका साथ विजयी भएको छ । उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराईबाहेक । नयाँ पुस्ताका कलाकारहरु मतदान गर्न नआएका कारण सरिताले हार बेहोर्नु परेको कतिपयको विश्लेषण छ । 
 
सरितालाई फेसबुकमा खुलेर समर्थन गर्ने प्रायः कलाकारहरु मतदान गर्न पुगेका थिएनन् । यसले एउटा कुरा चाहिँ सिकाउँछ, ‘फेसबुक समर्थनको भरमा कसैले चुनाव जित्दैन ।’ निर्वाचनपूर्व सरिता फेसबुकमा आफ्नो पक्षमा उर्लिएको समर्थनले दंग थिइन् । केही दिनदेखि घन्टैपिच्छे आफूलाई समर्थन गरेका कलाकारहरुको फेसबुक स्टाटस गरिरहेकी थिइन्, उनले । तर, चुनावी नतिजाले सरितालाई नराम्रो धक्का दिएको छ । 
 
५७ मतले पराजीत भएपछि उनले अध्यक्षमा निर्वाचित भएका रवीन्द्र खड्का र उनको प्यानललाई बधाई तथा शुभकामना दिइन् । अध्यक्षमा निर्वाचित खड्कालाई उनले खादा र फूलले बुकेट दिँदै भनिन्, 'संघको अध्यक्षमा ग्रैह कलाकार नआएकोमा म निकै खुसी छु । रवीन्द्र दाईको जित हामी सबै कलाकारको जित हो ।' आफूलाई मतदान गर्ने सबै कलाकारलाई धन्यवाद दिँदै उनले चुनावमा हार्नु जीवन हार्नु नभएको पनि बताइन् । 
 
 
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, 'चुनाव जीवन होइन एउटा प्रक्रिया मात्र हो । रवीन्द्र दाईको ठाउँमा एउटा ग्रैह कलाकार जितेको भए मलाई पक्कै दुःख लाग्थ्यो । मेरो प्यारो दाई जित्नुभएको छ, म एकदमै खुसी छु । रवीन्द्र दाईले गर्नुभएका प्रतिवद्धताहरु चाँडै पूरा हुन् । संघको भवन चाँडै बनोस् । पशुपतिको आर्यघाटमा घाम र पानीमा पार्थिव शरीर लडाउनु नपरोस् ।' सरिता अघिल्लो कार्यसमितिकी महासचिव हुन् । 
Most Visited News (monthly)