.jpg)
पत्रकारीतामा कान्छो विधाको रूपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता निकै बढ्दो छ । परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाइनमा निर्भर बन्दै जानु तथा अनलाइन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहनुलाई पत्रकारीताको नयाँ फड्को मान्न सकिन्छ । समयको माग भनौं या प्रविधिको विकास, अहिले अनलाइन मिडियाको बजार उच्च बिन्दुमा छ। नेपालमा मात्र होइन विश्वव्यापी रुपमा नै अनलाइन मिडियाको क्रेज बढ्दै गइरहेको छ ।
फिल्मीखबर डटकम पनि अनलाइन पत्रकारीताको क्षेत्रमा नयाँ आयाम बनेर आएको कुरालाई नकार्ने सायदै होलान् । २०६६ साल जेष्ठ २६ गतेका दिनबाट औपचारिक रूपमा फिल्मीखबर डटकमको शुरूवात भएको थियो । मैले करिब दुई बर्ष डिसी नेपाल डटकमबाट सिकेका कुराहरुलाई थप परिमार्जित गर्दै फिल्मीखबर डटकमको शुरूवात गरेको थिएँ । एक दशकको यात्रामा अनलाइन पत्रकारीताको उतारचढावलाई राम्रोसँग नियाल्ने र भोग्ने अवसर पाएको छु ।
फिल्मीखबर डटकम स्थापना भएपछि शुरूका दिनहरु मेरा लागि सहज थिएनन् । अनलाइन मिडियालाई स्विकार्न मुश्किल रहेको अवस्थामा अनलाइन पत्रकारीता र त्यसमा पनि मनोरञ्जनको क्षेत्रमा भविष्य देख्नु मेरो लागि चुनौतीको ठुलो पहाड थियो । कुनै पनि अवस्थामा हार नखाने अठोटका साथ मैले अनलाइन पत्रकारितामार्फत नेपाली फिल्मी क्षेत्रको विकास विस्तारका लागि टेवा पुर्याउने दृढ संकल्प लिएँ । अनेक उतारचढाव पार गर्दै फिल्मीखबर डटकमले आज नेपाली फिल्म क्षेत्रमा १० बर्ष पूरा गरेर एउटा इतिहास बनाएको छ । यो मेरो मात्र नभइ नेपाली फिल्मी क्षेत्रले नै गर्व गर्ने कुरा हो भन्ने मलाई लागेको छ ।
आजबाट फिल्मीखबर डटकम ११औं बर्षमा प्रवेश गरिरहँदा प्रत्यक्ष-परोक्ष रूपमा मलाई साथ दिनुहुने सम्पूर्ण सहकर्मी साथीहरू र फिल्मकर्मीहरूलाई मनदेखि नै नमन गर्न चाहन्छु। विशेषगरि फिल्मीखबर डटकमको पारिवारिक सदस्यको रूपमा रहेर साथ दिनुहुने कृष्ण त्रिपाठी, अनुप भट्टराई, उत्सव रसाईली, बिनोद पोखरेल, बैकुण्ठ पराजुली, महेश्वर मान सिंह, बिष्णु सुवेदी, मदन रिजाल, सामिप्य तिमल्सिना, मनिष दाहाल (अन्जान), बिवेक बस्याल र मञ्जु गैरेप्रति कृतज्ञ छु ।
यसैगरि युवराज निरौला (दमक), सञ्जोक बस्याल (पोखरा), रेम बिक (पोखरा), अर्पण ढकाल (धरान), मणिराज गौतम (हेटौंडा), प्रदीप कार्की (सर्लाही), कृष्ण न्यौपाने (दमौली), श्याम सुन्दर गिरी (चितवन), बिष्णु शाही (नेपालगञ्ज) लाई पनि साथ-सहयोगका लागि आभार प्रकट गर्दछु । छुटाउनै नहुने नाम सुरेश दर्पण पोखरेललाई पनि हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । 'मेरो' बाट 'हाम्रो' बनाउने सहकर्मी साथी छवि पचभैयालाई विगत र वर्तमानको जस्तै भविष्यमा आउने उतारचढाव तथा सुख-दु:खमा साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दै धन्यवाद ज्ञापन गर्दछु ।
हामी हाम्रा पाठक, विज्ञापनदाता, फिल्मकर्मी तथा शुभचिन्तकहरूप्रति सधैं नै नतमस्तक छौं । आगामी दिनमा पनि तपाईंहरूको यस्तै साथ र सहयोग अपेक्षा गर्दछौं । यसैगरि तपाईंहरूको सल्लाह, सुझावलाई शिरोपर गरि विगतका हाम्रा कमी-कमजोरीलाई नियाल्दै फिल्मीखबर डटकमलाई अझ परिस्कृत र परिमार्जित गर्दै नयाँ ढाँचाको सामग्री र नयाँ क्षमताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
सुमन गैरे
प्रकाशक/सम्पादक

