फिल्म क्षेत्रमा न कोही मित्र न त कोही शत्रु हुन्छ भनिन्छ । यहाँ सबैभन्दा प्रिय मित्र छिनभरमै शत्रु बनेका हुन्छन्/छन् । कट्टर शत्रु घनिष्ट मित्र भएका उदाहरणहरु पनि धेरै छन् । कतिपयको मित्रता भने देखाउनका लागि सबै ठिकठाक, तर वास्तविकतामा ३६ को आँकडामा हुन्छ । उदाहरणको रुपमा अभिनेता द्वय प्रदीप खड्का-अनमोल केसी र अभिनेत्रीमा पूजा शर्मा-आँचल शर्मालाई लिन सकिन्छ ।
.jpg)
उनीहरु मिडियाको सामुन्ने एकअर्काको तारिफ गरेर थाक्दैनन् । तर, वास्तवमा उनीहरु एकअर्कालाई पिटिक्कै मन नपाउने चर्चा फिल्मवृतमा चल्दै आएको छ । एकअर्काको प्रतिस्पर्धी भएका कारण पनि यो अवस्था सृजना भएको कतिपयको ठम्याइ छ । नेपाली फिल्मका केही कलाकारको दोस्ती भने उदाहरणीय मानिन्छ । यसमध्येका एक हुन्- अभिनेता द्वय सलिनमान बानियाँ र सलोन बस्नेत ।
फिल्म 'ए मेरो हजुर २' बाट उनीहरुको मित्रता झाँगिएको थियो । फिल्ममा पनि उनीहरु घनिष्ट साथी थिए । यो फिल्म सलिनको डेब्यू थियो । फिल्म बक्सअफिसमा सुपरहिट भएपछि उनी रातारात चम्किए । भलै, तारिफ जति सलोनले आफ्नो पोल्टामा पारे । यो फिल्मले सलिन र सलोनको मित्रता निकै बलियो बनाएको थियो । दुईले दोस्रो पटक पनि सहकार्य गरे, फिल्म 'यात्रा' मा ।
सलिनकै आग्रहमा यो फिल्ममा सलोनलाई निर्माता/निर्देशकले लिएको चर्चा फिल्मवृतमा छ । यसमा पनि उनीहरु रियल झैँ निकै मिल्ने साथीकै रुपमा प्रस्तुत भएका थिए । सलिन र सलोन अहिले सार्वजनिक कार्यक्रममा जाँदा साथमै देखिन्छन् । मिडियाको सामु साथमै तश्बिर खिचाउँछन् । साथमै बस्छन् र सँगै निस्किन्छन् । दुईको मित्रताले धेरैलाई लोभ्याउने गरेको छ ।
.jpg)
दुईको मित्रता कति प्रगाढ छ भन्ने कुरा शोभित बस्नेत निर्देशित तथा सलोन अभिनीत फिल्म 'बाबु कान्छा' को मुहूर्त समारोहमा सलिन पुग्नुले पनि प्रमाणित गरेको थियो । यस फिल्मको मुहूर्तमा उनले क्ल्याप ठोकेका थिए । रिलमा झैँ रियलमा पनि निकै घनिष्ट मित्रता कायम गरेका दुईलाई दर्शकले फेरि पर्दामा हेर्ने इच्छा प्रकट गरेका छन् । दुईको तेस्रो पटक सहकार्य होला वा नहोला ? अहिलेसम्म कुनै निधो छैन ।

