बलिउड सुपरस्टार ऋतिक रोशन आफ्नो नयाँ फिल्म ‘सुपर ३०’ का कारण चर्चामा छन् । यो फिल्म गणितका मास्टरमाइन्ड आनन्द कुमारको जीवनमा आधारित छ । हालै फिल्मको ट्रेलर रिलिज भएको छ र यसलाई मिश्रित प्रतिक्रिया मिलेको छ । कतिपयले फिल्ममा ऋतिकले निभाएको रोलमा राजकुमार राव वा पंकज त्रिपाठी जस्ता कलाकार राम्रो हुनसक्ने बताएका छन् ।
तर, दुई अभिनेताको स्टार पावर ऋतिकभन्दा कम छ । पछिल्लो केही वर्षयता सुपरस्टारडम इन्जोय गरिरहेका उनले यो फिल्मबाट आफ्नो स्टारडमलाई नयाँ उचाईमा पुर्याउन सक्ने विश्वास लिइएको छ । उनी दुई वर्षपछि ठूलो पर्दामा फर्किन लागेका हुन् । सन् २०१७ मा उनी अभिनीत फिल्म काबिल प्रदर्शनमा आएको थियो । यो फिल्म अहिले चीनमा प्रदर्शन भइरहेको छ ।

‘सुपर ३०’ सँगै ऋतिक केही दिनयता अर्को एक कारणले पनि चर्चामा छन् । उनले आफ्नो नयाँ फिल्ममा निकै मोटो रकम बुझेका छन् । एक सोर्सका अनुसार, उनले सिद्धार्थ आनन्दको फिल्ममा ४८ करोड भारतीय रुपैयाँ लिएका छन् । यो फिल्ममा उनीसँगै अर्का अभिनेता टाइगर श्राफको पनि प्रमुख भूमिका रहनेछ । यो फिल्म ठूलो बजेटमा निर्माण हुने बताइएको छ ।
ऋतिकमाथि निर्माताहरु लगानी गर्न कुनै डर मान्दैनन् । उनी भएपछि फिल्मको ओपनिङ निकै राम्रो हुने गर्दछ । स्याटेलाइट र डिजिटल राइट्स पनि राम्रो मुल्यमा विक्री हुन्छ । यसबाट निर्मातालाई आफ्नो लगानी उठाउन सजिलो हुन्छ । टाइगर र ऋतिकले पहिलो पटक सँगै काम गर्न लागेका हुन् । दुईलाई पर्दामा हेर्न दर्शक निकै आतुर छन् ।

