Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई वर्षदेखि फिल्मको स्क्रिप्ट लेख्दै परमिता

फिल्मीखबर, काठमाण्डौ, 2019/06/07
'चपली हाईट २' बाट डेब्यू गरेकी अभिनेत्री परमिता आरएल राणाको फिल्मी करिअर खासै सुखद रहन सकेको छैन । डेब्यू फिल्म नै बक्सअफिसमा पत्तासाफ भएपछि उनीमाथि गिनेचुनेका ब्यानरको नजर परेन । यद्यपि, फाट्टफुट्ट फिल्म भने गरिरहेकी छन् । उनलाई गत वर्ष प्रदर्शनमा आएको फिल्म 'रोज' बाट ठूलो आशा थियो । किनकि, फिल्ममा अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका थियो । तर, यो फिल्म पनि चलेन । 
 
फिल्म बक्सअफिसमा डब्बा मात्र भएन, अहिलेसम्म उनले आधाभन्दा बढी पारिश्रमिक समेत पाएकी छैनन् । गत वर्ष उनको नयाँ फिल्म 'चंगा चेट' पनि रिलिज भएको थियो । फिल्मले घरेलु बजारबाट लगानी सुरक्षित गरे पनि कलाकार कसैको चर्चा भएन । यद्यपि, गीतसंगीतबाट परमिताले राम्रै चर्चा बटुलेकी थिइन् । तर, फिल्ममा उनको अभिनयले दर्शक सन्तुष्ट भएनन् । यस वर्षको बैशाखमा उनको केमियो रहेको फिल्म 'द म्यान फ्रम काठमाडौं' पनि रिलिज भएको थियो । 
 
 
डेब्यू फिल्मदेखि नै उनको अभिनयको खासै चर्चा भएन । उनी सधैं अफेयर र ब्रेकअपका कारण मिडियाको लाइमलाइटमा रहिन् । 'चपली हाईट २' हलबाट उत्रिएसँगै अभिनेता आयुष्मान देशराज जोशीसँग उनको प्रेम टुट्यो । यसपछि उनको प्रेम हिसी लोसाङ्गसँग बस्यो । तर, यो सम्बन्ध पनि धेरै समय टिकेन । अहिले उनी सिंगल छिन् । र, हातमा फिल्म पनि छैन । उनी अभिनीत फिल्म 'कर्मा' प्रदर्शनको पखाईमा छ । तर, कहिले रिलिज हुन्छ अत्तोपत्तो छैन । 
 
अभिनयबाट जादु चलाउन नसकेपनि चार्म, अदा र सुन्दरताले भने उनलाई नेपाली फिल्ममा अरुभन्दा अलग बनाएको छ । बिहीवार उनले आफ्नो आवाजमा रहेको म्यूजिक भिडियो ‘क्विन’ सार्वजनिक गरेकी छन् । गीत सार्वजनिक कार्यक्रममा उनले आफू गएको २ वर्षदेखि फिल्मको स्क्रिप्ट लेखिरहेको खुलासा समेत गरेकी छन् । उनी भन्छिन्, ‘यो स्क्रिप्टमा फिल्म बनाउन निकै गाह्रो छ । किनभने, यो स्क्रिप्टले धेरै सेटहरुको माग गर्छ ।’ 
 
उनी आफूलाई सानैदेखि लेखनमा रुची रहेको बताउँछिन् । अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न सकस भइरहेको अवस्थामा अब उनी आफूलाई गायनसँगै लेखन विधामा पनि अगाडि बढाउने सोचमा छिन् । उनको गायन र लेखन यात्रा कुन ढंगले अगाडि बढ्नेछ ? यसका लागि भने केही समय प्रतिक्षा गर्नैपर्ने हुन्छ । फिल्मी करिअरझैँ न यता न उताको चाहिँ नहोस्, शुभकामना । 
Most Visited News (monthly)