अर्पण थापा निर्देशित फिल्म ‘घर’ को डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ । बिहीवार युट्युबमार्फत् सार्वजनिक गरिएको ट्रेलरमा एक घरभित्र हुने भुत-प्रेतको कथा देखाइएको छ । अभिनेत्री सुरक्षा पन्तले यस फिल्ममा अभिनेता तथा निर्देशक अर्पणको श्रीमतिको भूमिका निभाएकी छन् । भने, अर्की अभिनेत्री बेनिशा हमाल भुतको भूमिकामा रहेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

ट्रेलरमा उनको र अर्पणको बेडसिन पनि समावेश गरिएको छ । आउँदो साउन ३ गतेबाट फिल्म देशभर प्रदर्शनमा आउँदैछ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । भर्खर किनेको नयाँ घरमा सरेका श्रीमान्-श्रीमतीले भोगेको आत्मासँगको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो ।
‘घर’ को कथा निर्देशक थापा स्वयंको हो । अभिनयमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उनी निर्देशकको रुपमा पनि आफूलाई स्थापित गर्न संघर्षरत छन् । उनले यसअघि हरर जनराकै फिल्म ‘सुनकेशरी’ बनाएका थिए । नेपालमा विरलै बन्ने र चल्ने हरर जनराको फिल्ममा लगातार जोखिम मोलिरहेका अर्पणले ‘घर’ बाट निकै ठूलो आशा बोकेका छन् ।
निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । सन्तोष अधिकारी यस फिल्मका सह-निर्माताको रुपमा रहेका छन् । सूर्य ठोकरको द्वन्द्व रहेको ‘घर’ लाई डिएस डिजिटल र एफडि कम्पनीले वितरण गर्दैछन् ।
ट्रेलर हेर्नुहोस् :-

