नेपाली चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यही जेठ २५ गते नयाँ कार्यसमितिको लागि नेतृत्व पाउँदैछ । अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । भने, उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेती भिड्दैछन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ ।
सचिव पदमा तीन जनाको उम्मेदवारी छ । कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी यो पदलाई भिड्दैछन् । भने, कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन् । सह-कोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र डिबी बम्जन चुनावी मैदानमा उत्रिएका छन् । सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दर्ता गराएका छन् ।
अहिले अध्यक्षसहित अन्य पदमा उम्मेदवारी दर्ता गराएका कलाकारहरु आफ्नो लागि भोट माग्न व्यस्त छन् । केही दिन अगाडि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी सरिताले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो एजेन्डा सार्वजनिक गरेकी थिइन् । उनले आफ्नो एजेन्डा सार्वजनिक गर्दै संघको भवन निर्माण गर्ने बताएकी छन् । उनले नयाँ र पुराना कलाकारलाई मिलाएर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेकी छन् ।
यसबीच, अध्यक्ष पदका उम्मेदवार रविन्द्र खड्काले बिहीवार राजधानीमा एक कार्यक्रमका बीच आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले पनि सरिताझैं संघको भवन निर्माण गर्ने एजेन्डा अगाडि सारेका छन् । उनले संघको भवन आफ्नो लक्ष्य र उद्येश्य रहेको बताए । उनले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भने, 'म चार दशकदेखि कलाकारितामा सक्रिय छु । मैले आफ्नो परिवारभन्दा बढी चलचित्र क्षेत्रलाई माया गर्छु र समय दिएको छु । म सधैं कलाकारको हक-हितका लागि लड्नेछु ।'
कलाकार सदस्यहरुको जीवन बीमा गराउने, कलाकारहरुको आर्थिक समृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, अशक्त कलाकारहरुका लागि आर्थिक स्तरोन्नत्ति गर्न पहल गर्ने, सरकारद्वारा यस वर्षको बजेटमा घोषणा गरिएको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने, फान अवार्डलाई निरन्तरता दिने, संघलाई राजनीति र राजनैतिक विचारबाट अलग राख्ने उनले सार्वजनिक गरेको २१ बुँदे प्रतिवद्धता पत्रमा उल्लेख छ ।
उनले आफूलाई चुनाव जित्न पैसाको आवश्यकता नपर्ने पनि बताए । रविन्द्रले भने, ‘म चार दशकदेखि कलाकारितामा सक्रिय छु । मैले यो क्षेत्रमा लागेर पैसा कमाएको छैन । सबैभन्दा ठूलो सम्पत्ति मैले मान्छे कमाएको छु । म अध्यक्ष पदमा उठ्ने सोचमा थिइनँ । तर, संघ नै फुट्ने अवस्थामा पुगेपछि मैले उम्मेदवारी दिएको हुँ । र, म जित्छु भन्नेमा विश्वस्त छु ।’ उनले आफ्नो प्रतिद्वन्द्धि सरितालाई पनि जितको शुभकामना दिए ।
उनलाई अध्यक्षमा समर्थन गर्न कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार विनोद कुमार भट्टराई र रेजिना उप्रेती, महासचिव पदका उम्मेदवार चेतबहादुर सिंह, सचिव पदकी प्रत्यासी पनाह अधिकारी, कोषाध्यक्ष पदमा निर्विरोध चयन भएका सुनिल कटुवाल, सह-कोषाध्यक्षमा उम्मेदवारी दिएकी पवित्रा आचार्य उपस्थिति भएका थिए । अध्यक्ष खड्काको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा धिरेन शाक्य, विशाल विष्ट, मनोज केसीलगायतका कलाकारहरु पनि उपस्थिति थिए ।

