Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुहानालाई बाहिरी ब्यानर बन्देज हो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/06/06
अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन्- सुहाना थापा । गत वर्षको चैत २९ मा प्रदर्शनमा आएको फिल्म 'ए मेरो हजुर ३' बाट झरनाले आफूले हिँडेको बाटोमा छोरी सुहानालाई लिएर आएकी छन् । अर्थात् उनको दोस्रो पुस्ताको फिल्ममा औपचारिक रुपमा प्रवेश भएको छ । उक्त फिल्म बक्सअफिसमा सुपरहिट भएपछि सुहानालाई भविष्यको 'सुपरस्टार' भनिन थालिएको छ । 
 
डेब्यू फिल्ममा उनले गरेको अभिनयको जो कोहीले प्रशंसा गरेका छन् । दर्शक र समीक्षक दुबैले उनको अभिनयलाई ‘अपत्यारिलो’ बताएका छन् । अभिनेता अनमोल केसीसँग उनको 'केमेस्ट्री' पनि सुहाएको प्रतिक्रिया मिलेको छ । पुनः दुईलाई 'सिल्भर स्क्रिन' मा हेर्ने दर्शकले इच्छा समेत प्रकट गरेका छन् । तर, सुहानाको दोस्रो फिल्म कुन हुनेछ ? अहिलेसम्म पक्का भएको छैन । 
 
निर्देशक झरना अब लामो समयदेखि थन्किएर बसेको फिल्म 'भागवत गीता' सुरु गर्ने सोचमा छिन् । यसमा सुहाना र अनमोललाई दोहोर्‍याउने उनको इच्छा छ । तर, वितरकले 'ए मेरो हजुर ४' बनाउन आग्रह गरेका छन् । यसकारण उनले कुन फिल्म अगाडि गर्ने भन्नेमा निर्णय लिन सकेकी छैनन् । 'भागवत गीता' भन्दा अगाडि 'ए मेरो हजुर ४' बनेको खण्डमा भने अनमोल र सुहाना दोहोरिने सम्भावना न्यून छ । 
 
 
डेब्यू फिल्मको सफलतापछि अभिनेत्री सुहानालाई बाहिरी ब्यानरको फिल्मबाट पनि अफर आइरहेको छ । तर, उनले बाहिरी ब्यानरबाट अफर आएका कुनै फिल्म स्वीकार गरेकी छैनन् । यसको प्रमुख कारण पिता (सुनिल कुमार थापा) र माता (झरना थापा) लाई मानिएको छ । कतै सुहानालाई बाहिरी ब्यानरको फिल्म गर्न बन्देज त लगाइएको छैन ? फिल्मवृतमा चर्चा सुरु हुन थालेको छ । 
 
केही दिन अगाडि फिल्म 'ए मेरो हजुर ३' को प्रदर्शनका लागि आमा झरनासँग युरोप उड्नुभन्दा अगाडि उनलाई त्रिभुवन विमानस्थलमा पत्रकारले उनलाई प्रश्न गरे- 'तपाईंलाई बाहिरी ब्यानरको फिल्म अफर नआएको कि नगरेको ?' उनले जवाफमा भनिन्, 'केही दिन अगाडि बुबा (सुनिल कुमार थापा) लाई फोन आएको थियो । उहाँले अध्ययन पूरा गरेपछि मात्र छोरीले बाहिरी ब्यानरको फिल्म खेल्छ भनेर फोन राख्नुभयो ।' 
 
बाहिरी ब्यानरको फिल्म गर्न पहिला अध्ययन पूरा गर्न आवश्यक ठान्ने निर्माता थापाले आफ्नो प्रोडक्सनको फिल्ममा काम गर्न चाहिँ छोरीको पढाई सकाउन किन आवश्यक ठानेनन् ? प्रश्न उठ्नु स्वभाविक हो । पढाई पूरा नभएको भन्दै बाहिरी ब्यानरको फिल्म रिजेक्ट गर्दै जाँदा एकदिन छोरीका लागि फिल्म खोज्दै निर्माता थापाले अरु निर्माता/निर्देशकलाई फोन ठेल्नु पर्ने अवस्था चाहिँ नआओस्, कामना गरौं ।
Most Visited News (monthly)