वितरक मनोज राठीले मंगलवार बिहान बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘भारत’ भारतसँगै नेपालमा पनि बुधबार नै प्रदर्शन गर्न पाउनु पर्छ भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरे । सोही दिन साँझ अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न भन्दै चलचित्र विकास बोर्डलाई ‘भारत’ बुधबार नै नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश दियो । यसअघि फिल्म ‘कलंक’ लाई बोर्डले बुधबार रिलिज गर्न रोकेको थियो ।
(1).jpg)
अदालतले बुधबार नै फिल्म रिलिज गर्न दिन आदेश दिएपछि बोर्डको विदेशी फिल्म पनि नेपाली फिल्मझैं शुक्रवार नै रिलिज गर्नुपर्ने निर्णयमा ठूलो धक्का पुगेको छ । अब, विदेशी फिल्म जुनसुकै दिन नेपालमा प्रदर्शन हुन सक्नेछन् । यसले प्रदर्शनरत नेपाली फिल्मलाई ठूलो मार पर्ने देखिन्छ । ‘भारत’ बुधबार नै नेपालमा प्रदर्शनमा आउँदै तेस्रो हप्तामा प्रदर्शनरत नेपाली फिल्म ‘जात्रै जात्रा’ लाई ठूलो असर पुगेको छ ।
मल्टीप्लेक्सहरुले ‘भारत’ लाई सर्वाधिक सोज दिँदा ‘जात्रै जात्रा’ न्यून सोजमा खुम्चिएको छ । दर्शकको उपस्थिति राम्रो हुँदा-हुँदै पनि मल्टीप्लेक्सले बलिउड फिल्मका कारण सोज घटाएपछि यसका निर्माता/निर्देशक असन्तुष्ट छन् । हुनत, वर्षौदेखि वितरक र हल सञ्चालकले विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखा गर्दै आइरहेका छन् । विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म सधैं मारमा पर्ने गरेका छन् ।
‘भारत’ लाई बुधबार नै प्रदर्शन गर्न पाउनु पर्ने भन्दै वितरक अदालतको शरणमा पुगेपछि फिल्मकर्मीहरु अचम्मित भएका छन् । नेपाली फिल्मलाई सहज रुपमा प्रदर्शनका लागि यति चासो र चिन्ता नलिने वितरकको विदेशी फिल्मप्रति यतिविध्न प्रेम किन ? जवाफ उनीहरुसँगै होला । विदेशी फिल्म नेपालमा प्रदर्शनका लागि वितरकले गर्ने दौडधुप नेपाली फिल्म विदेश प्रदर्शनका लागि गरे कति राम्रो हुने थियो । तर, यहाँ वितरकलाई पैसा कमाउनु छ । नेपाली फिल्मको के चिन्ता !
नेपाली वितरकहरु नेपाली फिल्मसँग अर्को फिल्म जुधाउँदा गर्वको छाति फुलाउँछन् । विदेशी फिल्म नेपाल प्रदर्शनका लागि भने अदालतसम्म पुग्छन् र जितको खुसीयाली मनाउँछन् । के वितरकहरुमा इमान्दारिता तथा नैतिकता मरिसकेको हो ? फिल्मकर्मीहरु फिल्म क्षेत्र वितरकको चंगोलमा फस्दै गएकोमा चिन्तित हुन थालेका छन् । तर, आवाज कसैले उठाउन सकेका छैनन् । सामाजिक सञ्जालमा रोइलो गर्नुबाहेक ।
हास्यकलाकार दीपकराज गिरी पनि सामाजिक सञ्जालमार्फत् विभिन्न विषयमा ब्यङ्ग्य गरिरहेका हुन्छन् । ‘भारत’ बुधबार नै नेपालमा प्रदर्शन गर्नका लागि वितरक अदालतसम्म पुगेको देखेर उनी पनि अचम्मित भएका रहेछन् । हाल सिन्धुलीमा फिल्म ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त उनले फेसबुकमा स्टाटस लेखेर ‘भारत’ नेपाल प्रदर्शन गर्न पाउँदा गर्ववान्वित भएका वितरक र दशैं आएको सम्झिएका हल सञ्चालकप्रति कडा ब्यङ्ग्य गरेका छन् ।
उनले लेखेका छन्, अदालतको आदेशले, हलहरूको कृपाले, वितरकहरूको तिकडमले फिल्मले हल त कब्जा गर्ला, तर दर्शक कहाँबाट ल्याउने ? ‘भारत’ प्रदर्शनका लागि अदालतले आदेश दिँदैमा, वितरकले राजनीति गर्दैमा र हल सञ्चालले पर्याप्य हल दिँदैमा दर्शक हल नआउने उनको भनाइको तात्पर्य हो । रोचक कुरा चाहिँ के छ भने ‘भारत’ नेपाल प्रदर्शनका लागि अदालतसम्म पुगेका मनोज राठी ‘छक्का पञ्जा’ सिरिजका वितरक हुन् ।

