आउँदो शुक्रवारबाट प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ ले चौथो हप्तामा प्रदर्शन सुरु गर्दैछ । प्रदर्शनको तीन हप्ता फिल्मले बक्सअफिसमा लोभलाग्दो व्यापार गरेको छ । बक्सअफिसमा आक्रामक व्यापारको रफ्तारलाई फिल्मले तेस्रो हप्ताको अन्त्यसम्म पनि निरन्तरता दिएको छ । बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्म हेर्ने दर्शक घटेका छैनन् ।
(3).jpg)
फिल्मको तीन हप्ता लामो दबदबा बुधबारबाट भने लगभग तोडिएको छ । किनकि, इदको मेसो पारेर बुधबारबाट बलिउडका शक्तिशाली अभिनेता सलमान खान अभिनीत फिल्म ‘भारत’ प्रदर्शनमा आएको छ । यो फिल्मलाई नेपालका मल्टीप्लेक्सहरुले सर्वाधिक सोज बाँड्दा ‘जात्रै जात्रा’ न्यून शोमा खुम्चिनु परेको छ । हुनत, यो पहिलो घटना भने होइन ।
विदेशी फिल्मका कारण सधैं नेपाली फिल्म चेपुवामा पर्ने गरेका छन् । निर्माताहरुले राम्रो शेयर पाउने मल्टीप्लेक्सहरुले सधैं नेपाली फिल्मलाई पाखा र विदेशी फिल्मलाई काखा गर्दै आइरहेका छन् । मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ ले पनि यो नियति भोग्नु परेको छ । फिल्मले राम्रो दर्शक पाइरहेको अवस्थामा मल्टीप्लेक्सहरुले ठूलो संख्यामा शो घटाएका छन् ।
नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले राजधानीका आफ्नो पाँच स्टेशनमा प्रदर्शनको पहिलो दिन ‘जात्रै जात्रा’ लाई १९ शो दिएको थियो । दोस्रो हप्ता पनि फिल्मले यही आसपासमा शो पाएको थियो । तेस्रो हप्ता (मंगलवारसम्म) भने क्यूएफएक्सले फिल्मलाई थप २ शो बढाएर २१ पुर्यायो । बुधबारबाट ‘भारत’ का कारण फिल्मको शो संख्यामा निकै कमी आएको छ ।
फिल्मले क्यूएफएक्समा बुधबार ७ शो पायो । सबै शो हाउसफुल भए । बिहीवार पनि फिल्मलाई ७ शो नै छ । राजधानीका अन्य मल्टीप्लेक्सहरुले तेस्रो हप्ता (मंगलवारसम्म) पनि फिल्मलाई राम्रो शो उपलब्ध गराएका थिए । बुधबारबाट सबैले शो घटाएका छन् । ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराई र निर्माता र रविन्द्र सिंह बानियाँले फिल्मको शो घटेकोमा दुखेसो पोखेका छन् ।
निर्देशक भट्टराईले फेसबुकमा लेखेका छन्, 'आफ्नो व्यापार व्यावसाय हो । आफू खुसी गर्न पाइएला । तर, व्यवसायिक धर्म भन्ने पनि त हुन्छ होला ? हामीले जति डिजर्भ गर्छौं त्यत्ति मागेका हौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुको मेरा भारत महान भनेको पनि देखियो । हल आफ्नो हुनेहरुले आफ्नो फिल्मको लागि मन खुसी शो राखे पनि दर्शकको मन खुसी नहुँदा कुन हालत भयो, देखेकै हो ।'
हल कब्जा गरेर मात्र दर्शक हलमा नआउने बताउँदै उनले अगाडि लेखेका छन्, 'मेरिट अनुसार पाउनु पर्ने शो नपाए पनि हामीले पाउनु पर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौं । अन्तिम सत्य दर्शक नै हुन् । आज टिकट नपाउनु हुने दर्शकप्रति क्षमा चाहन्छौं ।' उनको यो स्टाटस निर्माता बानियाँले पनि साझेदार गरेका छन् । ‘भारत’ का कारण ‘जात्रै जात्रा’ को शोमा कमी आएपछि यसको निर्माण पक्ष असन्तुष्ट देखिएको छ ।

