Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

चुलिँदो आर्यनको डिमाण्ड, अब चुजी बन्ने कि ?

मनिष अन्जान, काठमाण्डौ, 2019/06/05
फिल्म क्षेत्रमा भविष्य खासै सुरक्षित मानिँदैन । विभिन्न कालखण्डमा नेपाली फिल्म क्षेत्रमा भविष्य नदेखेर विदेश पलायन हुने कलाकारको लामले पनि यसलाई प्रमाणित गर्छ । यस क्षेत्रमा प्रवेश गर्न जति कठिन छ टिक्न झनै मुश्किल छ । फिल्मले सडकबाट महलमा पुर्‍याइदिन सक्छ । महलबाट सडकमा झार्न पनि समय लगाउँदैन । यसकारण नै भनिएको हुनसक्छ, 'यहाँ नाम र दाम कमाउन र गुमाउन धेरै समय लाग्दैन ।' 
 
यस क्षेत्रले धेरैलाई धेरैथोक दिएको छ । हजारौंलाई गाँस-बास दिएको छ । हिजोको साधारण व्यक्ति आज सबैको आँखाको तारो भएको छ । कतिलाई महलबाट सडकमा झारेको पनि छ । कति यही क्षेत्रमा लागेर विलासिताको जिन्दगी विताइरहेका छन् । हिजो सबैको हाईहाईमा भएको व्यक्ति आज गुमनाम पनि भएको छ । यो चमकधमकको दुनियाँमा पाइलैपिच्छे सफलता र असफलताका खुड्किलाहरु छन् । हरेक पाइला सतर्कतापूर्वक चाल्नुपर्छ । 
 
आफूलाई जोगाएर अगाडि बढ्न नसक्दा सफलताको उत्कर्षमा पुगेको व्यक्ति कसरी बेगमा ओरालो झर्छ भन्ने एउटा गतिलो उदाहरण हुन्, अभिनेता आर्यन सिग्देल । एक समय उनको नेपाली फिल्ममा राम्रै दबदबा थियो । करीब एक दशक उनको दबदबा कसैले तोड्न सकेन । लभस्टोरी फिल्ममा उनी पहिलो रोजाई थिए । लाखौं पारिश्रमिक दिएर काम गराउन निर्माताहरु तानातान गर्दथे । 
 
डेब्यू फिल्म 'किस्मत' ले आर्यनको किस्मत बदलेको थियो । यो फिल्मपछि उनले करिअर पछाडि फर्किएर कहिल्यै हेर्नु परेन । लगातार फिल्म हातमा टुटेनन् । एकाधबाहेक हरेक फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे । एकताका उनलाई बक्सअफिसमा असफल हुने अधिकार छैन भन्ने गरिन्थ्यो । 'मेरो एउटा साथी छ' हुँदै 'नोभेम्बर रेन' सम्म आइपुग्दा उनी सफलताको उत्कर्षमा पुगेका थिए । 
 
उनलाई नेपाली फिल्मका सर्वाधिक महँगा अभिनेता पनि भनिन्थ्यो । निखिल उप्रेती, विराज भट्ट, राजेश हमालले २/३ लाखमा फिल्म गरिरहेको अवस्थामा उनले ८ लाखसम्म पारिश्रमिक लिएर फिल्म खेले । लभस्टोरी फिल्ममा उनीजस्तो अभिनय गर्ने अभिनेता अझै पनि नेपाली फिल्मले नपाएको चर्चा हुने गर्दछ । तर, बिस्तारै उनले आफ्नो खास गुमाउँदै गए । कारण हो, उनले संख्यात्मक अभिनयमा जोड दिनु । 
 
 
पैसा राम्रो पाएपछि आँखामा पट्टी बाँधेर उनी फिल्मको संख्या बढाउन कसिए । आफ्नो भूमिका समेत गतिलो हेरेनन् । बिस्तारै दर्शकमा उनी र उनका फिल्मप्रति चासो र रुची घट्दै गयो । एक समय पोस्टरमा उनको अनुहार देखेको भरमा सिनेमा घरको टिकट काउन्टरमा लाग्ने भीड छिन्नभिन्न हुन थाल्यो । बिस्तारै उनी बक्सअफिसमा कमजोर हुँदै गए, र अनमोल केसीजस्ता अभिनेताको उदय हुँदै गयो । 
 
एक जमाना फिल्मकर्मी र दर्शकबाट 'नम्बर वान नायक' को उपाधि पाएका आर्यनको स्टारडम अहिले पूरै खस्किएको छ । कुनै दिन उनलाई लिएपछि फिल्म सुपरहिट हुन्छ भन्ने फिल्ममेकर्सहरु अहिले अनमोल केसी र प्रदीप खड्काजस्ता अभिनेतातर्फ मोडिएका छन् । नेपाली फिल्ममा आफ्नो प्रभुत्व रहेको बेला आर्यनले छाडेका फिल्म अरुले गर्थे । अहिले उनलाई अनमोल र प्रदीपले छाडेका फिल्म अफर हुन थालेका छन् । 
 
अभिनेत्री रेखा थापासँग जोडी बाँधेको फिल्म 'रुद्रप्रिया' समेत असफल भएपछि आर्यनलाई फिल्म नै अफर हुन थालेको चर्चा चलेको थियो । यसबीच, उनले आफ्नै लगानीमा फिल्म 'कायरा' बनाए । अभिनेत्रीमा अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाहलाई १० लाख पारिश्रमिक दिएर उनले आफ्नो डुब्न लागेको नाउ बचाउन खोजे । तर, फिल्म बक्सअफिसमा असफल भयो । यो फिल्म पनि नचलेपछि आर्यन अब पलायन हुनसक्ने धेरैले अनुमान लगाएका थिए । 
 
गएको महिना छोराको पिता भएका आर्यन अब आफ्नो पुरानो साख फर्काउने प्रयासमा देखिएका छन् । किनकि, उनको हातमा अहिले राम्रा प्रोजेक्टहरु छन् । आउँदो साउन अन्तिममा 'नाइँ नभन्नू ल' सिरिजका निर्देशक विकासराज आचार्यले निर्देशन गरेको फिल्म 'हजार जुनीसम्म' प्रदर्शनमा आउँदैछ । यसमा उनी प्रमुख भूमिकामा छन् । यो फिल्मले आफ्नो खस्किएको स्टारडम फर्काउनेमा आर्यन विश्वस्त छन् । 
 
अनमोल र प्रदीपले महँगो पारिश्रमिक डिमाण्ड गर्ने र वर्षमा एक वा दुईभन्दा बढी फिल्म नगर्ने भएका कारण पनि अहिले धेरै फिल्ममेकर आर्यनतिर मोडिन थालेका छन् । केही समययता उनलाई राम्रो प्रोजेक्टबाट अफर भइरहेको छ । हालै उनले साम्तेन भुटियाको कमेडी फिल्म 'चच हुई' गरे । चाँडै 'क्याप्टेन' निर्देशक दीवाकर भट्टराईको एक लभस्टोरी प्रोजेक्ट गर्ने चर्चा छ । निर्देशक अमरदिप सापकोटाको फिल्म पनि उनलाई अफर भएको छ । 
 
आफ्नो स्टारडम गुम्दै जान थालेपछि अहिले आर्यन फिल्म छनोटमा सम्यमित देखिन थालेका छन् । उनले केही महिनायता राम्रो पारिश्रमिक पाउँदा पाउँदै पनि केही फिल्मको स्क्रिप्ट चित्त नबुझेर रिजेक्ट गरेको स्रोत बताउँछ । यसले पनि उनी अब आफ्नो गुमेको स्टारडम फिर्ता गर्ने लक्ष्यमा रहेको संकेत गर्छ । फिल्म छनोटमा चुजी बन्ने हो भने उनले आफ्नो गुमेको स्टारडम फर्काउन धेरै समय नलाग्ने कतिपयको विश्लेषण छ । 
 
लभस्टोरी फिल्ममा निकै रुचाइएका यी अभिनेताले अब आफूलाई चकलेटी भूमिकामा मात्र सीमित राख्नु पनि राम्रो हुँदैन । उनले फरक-फरक भूमिकामा आफूलाई 'एक्सपेरिमेन्ट' गर्न पनि आवश्यक छ । उमेर र समय सँग-सँगै फिल्म गर्ने शैली परिवर्तन गर्दै जाने हो भने उनले अझै लामो समय नेपाली फिल्ममा आफ्नो प्रभुत्व जमाउनेमा शंका छैन । आशा गरौं, अब उनले पैसाको लोभमा आफ्नो करिअरको डुंगा फेरि डुबाउने छैनन् । 
Most Visited News (monthly)