गत वर्ष प्रदर्शनमा आएको समीक्षात्मक रुपमा सफल फिल्म ‘बुलबुल’ मा चोपेन्द्रको चरित्रमार्फत् परिचित मुकुन भुषालले दोस्रो फिल्मको रुपमा ‘झिँगेदाउ’ साइन गरेका छन् । पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा उनको प्रमुख भूमिका रहनेछ । उनको अपोजिटमा भने अभिनेत्री तय भएको छैन ।
साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित भएर ‘झिँगेदाउ’ निर्माण हुन लागेको हो । भदौबाट फिल्मको छायांकन सुरु हुनेछ । अहिले यसका लागि कलाकार छनोटको काम भइरहेको निर्देशक देउजाले बताएका छन् । कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक स्वयंले निर्माण गर्दैछन् ।

सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन हुने फिल्मको टाइटल लोगो निर्माण टिमले सार्वजनिक गरिसकेको छ । विष्णु कल्पितले खिच्ने फिल्ममा पासाङ टी शेर्पा कला निर्देशकको रुपमा रहेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् । भने, पटकथा एवं संवाद प्रदीप भारद्धाजले तयार पारेका छन् ।
'मुना मदन', 'वुद्ध वर्न इन नेपाल', 'रक्षक', 'करुक्षेत्र', 'देवर बाबु', 'हामी ट्याक्सी ड्राइभर' लगायतका फिल्मको निर्देशन गरिसकेका ज्ञानेन्द्र फिल्मको कथामा सुहाउने भएकै कारण मुकुनलाई प्रमुख भूमिकामा अनुबन्ध गरेको बताए । ‘हामीलाई राम्रो अभिनय गर्न आउने कलाकार चाहिएको थियो । मुकुनले क्यारेक्टरलाई न्याय गर्न सक्छ भन्ने लागेपछि लिएका हौं’, उनले भने ।

