केही वर्षयता नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका अभिनेता अनमोल केसी अहिले ‘सर्ट टर्म विश्राम’ लिएर बसेका छन् । गएको वर्ष दुई फिल्म ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ को भ्याइनभ्याइ गरि छायांकन र प्रमोसन गरेका उनी अब एउटा फिल्म रिलिज भएपछि मात्र अर्को फिल्ममा अनुबन्ध हुने सोचमा छन् । गत वर्ष दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदा उनलाई निकै सकस भएको थियो ।
यस वर्ष उनको नयाँ फिल्म प्रदर्शनमा आउने सम्भावना निकै न्यून छ । फिल्म ‘ए मेरो हजुर ३’ पछि उनले कुनै नयाँ फिल्म साइन गरेका छैनन् । फिल्मको अफर भने उनलाई दिनमै आधा दर्जनभन्दा बढी आउने गरेका छन् । तर, उनी केही महिनाको विश्रामपछि मात्र नयाँ फिल्म गर्ने मनस्थितिमा छन् । सबै कुरा मिले उनले झरना थापाको फिल्म ‘भगवात गीत’ गर्ने सम्भावना बलियो छ ।
.jpg)
फिल्म ‘जात्रै जात्रा’ का निर्देशक प्रदीप भट्टराईसँग पनि उनको सहकार्य हुन सक्ने प्रवल सम्भावना छ । ‘कागजपत्र’ फेम्ड निर्देशक अपिल विष्ट, ‘त्यान्द्रो’ निर्देशक सान्तेन भुटिया, ‘द म्यान फ्रम काठमाडौं’ निर्देशक पेमा धन्डुपले पनि अनमोललाई फिल्म अफर गरेका छन् । तर, उनले कसैलाई गर्ने वा नगर्ने निर्णय दिएका छैनन् । यसबीच, उनले फेरि एकपटक घरको फिल्ममा काम गर्ने भएका छन् ।
‘काजल फिल्मस्’ को ब्यानरमा पिता भुवन केसीले निर्माण गरेको दुई फिल्म ‘ड्रिम्स’ र ‘क्याप्टेन’ मा काम गरिसकेका अनमोल फेरि एकपटक होम प्रोडक्सनको फिल्ममा काम गर्दैछन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले जानकारी दिएका छन् । भदौ वा असोजबाट फिल्मको छायांकन सुरु हुन सक्ने उनको भनाई छ । निर्देशन उनी स्वयंले गर्ने चर्चा छ ।
यसअघि फिल्म ‘ड्रिम्स’ निर्देशन गरेका भुवनले सोमवार आफ्नो प्रमुख भूमिका रहने फिल्म ‘मिस्टर नेपाली’ को शुभ मुहूर्त समारोहमा भने- ‘अनमोल फेरि होम प्रोडक्सनको फिल्ममा काम गर्दैछ । अहिले स्क्रिप्टमा काम भइरहेको छ । तर, निर्देशन मैले नै गर्छु वा अरुले त्यो भने पक्का भएको छैन ।’ फिल्मीखबरलाई स्रोतले दिएको जानकारी अनुसार, उनी प्रदीप भट्टराईलाई निर्देशकको जिम्मेवारी सम्पने तयारीमा छन् ।

