 (2).jpg)
अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको ‘लुक्स’ परम्परागत हिरोको जस्तो छैन । न चकलेटी अनुहार । न संगठित शरीर । तर, अभिनय जोडदार छ । बजारले ‘स्टार’ मानेका अभिनेताहरुबाट दर्शक असन्तुष्ट भइरहेको अवस्थामा उनले भने हरेक फिल्मबाट दर्शकको मन जित्दै गएका छन् । उनी, मुख्य भूमिकामै खेलेर फिल्मलाई काँध हालेर हिँड्न सक्छन् । आफू कम चरित्र बढी बाँच्ने उनले फिल्मी करिअरको ७ वर्षमा जति पनि फिल्म गरे सबैले दर्शकलाई अपनत्त्व महशुस गराएका छन् ।
रंगमञ्चमा आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका उनी फिल्म ‘बधशाला’ बाट फिल्म अभिनयमा होमिएका थिए । यसपछि उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘डमरुको डण्डीवियो’ र ‘जय भोले’ फिल्ममा काम गरे । हरेक फिल्ममा उनको अभिनयको प्रशंसा हुन कुनै कमी भएन । भलै, ‘जय भोले’ मा बजारमुखी भएको धेरथोर आरोप खेप्नुपर्यो, उनले । किनकि, उनीबाट दर्शकले ‘पशुपतिप्रसाद’ जस्ता फिल्मको अपेक्षा बढी राख्ने गरेका छन् ।
 (1).jpg)
एउटा रोचक कुरा चाहिँ के छ भने अहिलेसम्म उनले अरु लेखकले लेखेको कथामा काम गरेका छैनन् । जति फिल्म गरेका छन्, सबैको कथा उनी स्वयंले लेखेका हुन् । यसकारण उनलाई अरुले लेखेको कथामा काम गर्न नमान्ने अभिनेता भन्ने गरिन्छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘गोपी’ बाट उनले यो आरोप खारेज गर्न खोजेका थिए । तर, सकेनन् । स्क्रिप्ट चित्त नबुझेपछि अन्तिम समयमा उनले यो फिल्मबाट हात झिकेका थिए । अब, उनी फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा हात हाल्दैछन् ।
खगेन्द्रले निर्देशनमा डेब्यू गर्न लाग्दै गर्दा एउटा जिज्ञासा उठ्नु स्वभाविक हो- ‘अब उनी आफ्नै निर्देशनमा मात्र काम गर्ने सोचमा त छैनन् ?’ ‘पानीफोटो’ को घोषणा सभामा उनलाई पत्रकारले यही प्रश्न तेर्साए । जवाफ दिनुभन्दा अगाडि उनी मज्जैले हाँसे । अनि, जवाफ फर्काए- ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउँदा आफैंले निर्देशन गर्ने मेरो ड्रिम थियो । त्यसैले आफैंले निर्देशन गर्न लागेको हुँ । अब अरु निर्देशकसँग काम नगर्नका लागि आफैं निर्देशनमा होमिएको भने होइन । म सबै निर्देशकसँग काम गर्न चाहन्छु ।’
 (3).jpg)
‘पानीफोटो’ पछि अरु फिल्म निर्देशन गर्ने वा नगर्ने आफैंलाई थाहा नभएको उनी बताउँछन् । उनले आफूलाई कलाकार मात्र भएर फिल्ममा काम गर्न मन भएको पनि बताए । खगेन्द्र भन्छन्, ‘आजसम्म मैले अरुले लेखेको कथामा काम गर्न पाएको छैन । त्यो एउटा कलाकारका लागि निकै दुखद कुरा हो । मलाई कलाकार मात्र भएर काम गर्न निकै मन छ । मेरो यो रहर चाँडै पूरा हुनेमा विश्वस्त छु ।’ ‘पानीफोटो’ लाई राम्रो बनाउन आफूले इमान्दार प्रयास गर्ने पनि उनले बताए ।

