Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रीमाले अनमोलसँग पनि रोमान्स गर्छिन् : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2019/06/03
अभिनेता भुवन केसी आफूले राम्रोसँग चिनेका कलाकार हुन् वा नचिनेका, सबैको मुक्तकण्ठले प्रशंसा गर्न कुनै कसर छाड्दैनन् । सबैलाई आफ्नो मनपर्ने अभिनेता वा अभिनेत्री भनिदिन्छन् । उनी ट्याग दिन समेत माहिर छन् । फिल्म 'रामकहानी' हेरेपछि अभिनेत्री पूजा शर्मालाई उनले 'नेपालको नम्बर वान' अभिनेत्रीको ट्याग दिएका थिए । उनी कुनै फिल्म हेर्न गए भने तारिफको पुल बाँधेर मात्र फर्किन्छन् । 
 
एक समय नेपाली फिल्ममा आफ्नो प्रभुत्व जमाएका भुवन केही वर्षयता अभिनयबाट टाढा छन् । करीब ७ वर्षदेखि उनी अभिनीत फिल्म हेर्न दर्शकले पाएका छैनन् । 'कुशुमे रुमाल', 'नेपाली बाबु', 'तँ त साह्रै विग्रिस नी बद्री' लगायतका दुई दर्जन बढी ब्लकबस्टर फिल्म दिएका उनले फिल्म 'ड्रिम्स' बाट निर्देशनमा समेत हात हालेका थिए । फिल्म निर्माण भने उनी लामो समयदेखि सक्रिय छन् । 
 
 
उनले फिल्म 'होस्टेल' बाट छोरा अनमोल केसीलाई पनि आफूले हिँडेको बाटोमा ल्याएका थिए । अहिले उनको नेपाली फिल्ममा गजबको बोलबाला छ । एकसेएक हिट फिल्म दिइरहेका छन् । छोरा अनमोलको करिअर मजबुत बनाउन लामो समय अभिनयबाट दूरी बनाएका भुवन फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्दैछन् । यसमा उनी दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् । फिल्ममा उनी बाबु-छोराको भूमिकामा हुनेछन् । 
 
आइतवार फिल्मको मुहूर्तसँगै छायांकन सुरु भएको छ । ६१ वर्षका भुवनले फिल्ममा अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गर्दैछन् । उनको कुन चरित्रले रीमासँग रोमान्स गर्नेछ ? यस विषयमा निर्माण टिमले जानकारी दिएको छैन । तर, भुवन र रीमाले पहिलो पटक स्क्रिन साझेदारी गर्न आफूहरु निकै उत्साहित रहेको बताएका छन् । ‘मेरो मनपर्ने अभिनेत्री हुन् रीमा । उनीसँग काम गर्न म निकै उत्साहित छु’, भुवनले भने । 
 
रीमा भने भुवनसँग काम गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘भुवन दाईजस्तो बरिष्ठ कलाकारसँग स्क्रिन साझेदारी गर्न पाउनु आफैंमा एउटा उपलब्धि हो । मलाई उहाँसँग पहिलादेखि नै काम गर्न मन थियो । ‘मिस्टर नेपाली’ मा त्यो अवसर जुटेकोमा खुसी छु ।’ फिल्मलाई  देव भुषालले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो । 
 
फिल्मको मुहूर्त समारोहमा रीमालाई पत्रकारले प्रश्न गरे- ‘बल्ल भुवन केसीसँग रोमान्स गर्ने बेला भयो ?’ उनी पत्रकारको प्रश्नमा मज्जैले हाँसिन् । ‘म धेरै सिनियर भएछु’, उनले हाँस्दै जवाफ फर्काइन् । उनको कुरा पूरा नहुँदै छेवैमा रहेका भुवनले भने- ‘रीमाले भुवन केसीसँँग मात्र रोमान्स गर्‍यो भन्न मिल्दैन । नयाँ फिल्ममा अनमोलसँग पनि रोमान्स गर्न सक्छिन् । उनी आफैंमा राम्रो अभिनेत्री हुन् ।’ 
Most Visited News (monthly)