Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

खगेन्द्र अब निर्देशक, नाटक ‘पानीफोटो’ मा फिल्म बनाउँदै

फिल्मीखबर, काठमाण्डौ, 2019/06/02
‘भर्सटायल अभिनेता’ खगेन्द्र लामिछाने फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा औपचारिक रुपमा होमिने भएका छन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो । यस नाटकको खगेन्द्र स्वयंले लेखन र निर्देशन गरेका थिए । उनले नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । अब, उनले उक्त नाटकलाई फिल्मको रुप दिन लागेका हुन् । 
 
‘पानीफोटो’ को आइतवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । आउँदो भदौबाट छायांकन सुरु हुने फिल्ममा खगेन्द्रका अलावा सुनील पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ । काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा फिल्म छायांकन हुनेछ । खगेन्द्रलाई निर्देशनमा अनिल खड्काले सघाउनेछन् ।
 
निर्देशक खगेन्द्रले ‘पानीफोटो’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने- ‘यो नाटकलाई फिल्म बनाउँछु भन्ने सपना सन् २०११ तिर बुनेको थिएँ । धेरै दर्शकले यो नाटक रुचाउनुभएको थियो । यसलाई झन् धेरै दर्शकमाझ पुर्‍याउन मन थियो, जुन फिल्मबाट मात्र सम्भव थियो । यद्यपि, मैले पुस्तक भने निकालेको थिएँ । तर, फिल्म नै बनाउने सपना थियो, जुन अब पूरा हुँदैछ ।’ उनी फिल्म राम्रो बनाउन आफ्नो तर्फबाट कुनै कसर नछाड्ने बताउँछन् । 
 
 
प्रायः आफूले लेखेको कथामा मात्र फिल्म गर्दै आइरहेका खगेन्द्रले आफूलाई अभिनेताको रुपमा मात्र काम गर्ने इच्छा रहेको पनि बताए । अब आफ्नै निर्देशनमा मात्र फिल्म गर्ने सोच त होइन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने- ‘यो नाटकलाई फिल्म बनाउँदा आफैंले निर्देशन गर्छु भन्ने सोचेको थिएँ । त्यसैले आफैंले निर्देशन गर्न लागेको हुँ । अब अरु निर्देशकसँग काम नगर्नका लागि आफैं निर्देशनमा होमिएको भने होइन । म सबै निर्देशकसँग काम गर्न चाहन्छु ।’ 
 
अभिनेता टर्न निर्देशक खगेन्द्रले आफ्नो बाल्यकालका केही सम्झनाहरु पनि समावेश भएकाले ‘पानीफोटो’ नाटकलाई फिल्म बनाउने सपना बनेको स्मरण गरे । उनले आफूले फिल्म निर्माणमा लागेपछि सिकेका कुराहरुलाई सदुपयोग गरि इमान्दारितापूर्वक ‘पानीफोटो’ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् । 
 
‘पानीफोटो’ पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पखाईमा बसेका बुबा-आमाको कथामा आधारित भएर बन्नेछ । फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् । भने, सम्पादनको जिम्मेवारी निमेष श्रेष्ठ र अर्जुन कार्कीको काँधमा छ । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् । कलाकार सुनील पोखरेलले आफ्नो भूमिका मन परेपछि काम गर्न तयार भएको बताए । 
 
अभिनेता खगेन्द्र बल्ल नेपालमा द्वन्द्वको कथा भन्ने समय आएको बताउँछन् । पत्रकारको एक प्रश्नको जवाफमा उनी भन्छन्, ‘एक समय द्वन्द्वकै समय हुन्छ । त्यसबेला द्वन्द्वको कथा भन्नु उपयुक्त हुँदैन । किनकि, त्यसबेला हरेक पक्ष ‘एग्रेसिभ’ हुन्छन् । ‘कुलडाउन’ भएपछि हामीले त्यसबाट के सिक्यौं र के गुमायौं भन्ने थाहा हुन्छ ।’ द्वन्द्वको कथा सर्जकले 'न्यूटल' भएर भन्न सके समाजमा राम्रो कुरा स्थापित हुने उनको भनाई छ ।
Most Visited News (monthly)