अहिलेका जल्दाबल्दा अभिनेता प्रदीप खड्का आउँदो चैत २८ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ को तयारीमा छन् । आइतवार उनले फिल्ममा रोमान्स गर्ने अभिनेत्रीको टुंगो लाग्दैछ । उनी भने कपाल बढाउन र शरीर संगठित बनाउन जिममा पसिना बगाइरहेका छन् । यस फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेनले यसको कथा लेखेका हुन् । निर्माण टिमले फिल्म छायांकन गर्ने स्थल र स्क्रिप्ट लक गरिसकेको छ ।
 (1).jpg)
अहिलेका सर्वाधिक महँगा र डिमान्डेड अभिनेता प्रदीपले सन्तोष सेनले निर्माण गर्ने फिल्म ‘दीपेन्द्र सरकार’ मा समेत काम गर्ने फाइनल भएको थियो । यो फिल्मको ‘प्रेमगीत २’ रिलिजको एक महिना अगाडि काठमाडौंको पाँचतारे होटलमा भब्य कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको थियो । फिल्मलाई २०७५ को जेठ १९ गते प्रदर्शनमा ल्याउने घोषणा समेत गरिएको थियो । फिल्मको निर्माण बजेट ५ करोड बताइएको थियो ।
विवेक कुमार शाह द्धारा लिखित पुस्तक 'मैले लेखेको दरवार' मा कोरिएको पूर्वराजा दीपेन्द्र शाह र उनकी प्रेमिका देवयानी राणाको प्रेम प्रशंगमा आधारित भएर फिल्म बन्ने निर्माता सेनले जानकारी गराएका थिए । तर, फिल्मको घोषणा भएको ३ वर्ष वितिसक्दा समेत निर्माण हुन सकेको छैन । अब, यो फिल्म नबन्ने चर्चा गाइँगुइँ सुनिन थालिएको छ । निर्माता सेन भने भित्री रुपमा तयारी भइरहेको बताउँदै आएका छन् ।
शनिवार करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेको बायोग्राफी पुस्तक 'बलिदान' को विमोचन कार्यक्रममा अतिथीको रुपमा उपस्थिति भएका अभिनेता प्रदीपले ‘प्रेमगीत ३’ पछि ‘दीपेन्द्र सरकार’ को तयारी सुरु हुने जानकारी दिएका छन् । उनले लामो समयदेखि फिल्मको तयारी भइरहे पनि कसैको अनुमति लिनु पर्ने भएका कारण निर्माण हुन नसकेको बताए । तर, फिल्म भने बन्ने उनको भनाई छ ।
 (2).jpg)
अभिनेता प्रदीप भन्छन्, 'पूर्वराजा दीपेन्द्र शाहको वास्तविक प्रेमकथामा फिल्म बनाउन धेरै व्यक्तिसँग अनुमति लिनुपर्ने हुँदो रहेछ । त्यसैले यो सम्भाव हुने देखिएको छैन । यसैले हामी नाम परिवर्तन गरेर काल्पनिक कथामा फिल्म बनाउने तयारीमा छौं ।' पूर्वराजा दीपेन्द्रकी प्रेमिका भनिएकी देवयानी (पशुपतिशमशेर राणाकी छोरी) को अनुमति लिनु पर्ने भएका कारण ‘दीपेन्द्र सरकार’ निर्माण हुन नसकेको स्रोत बताउँछ ।

