
देखावटी मित्रता र यथार्थमा दुश्मनी फिल्म क्षेत्रमा नौलो होइन । आइतवार फिल्म 'लभ स्टेशन' को घोषणा सभामा 'पानी बाराबार' रहेको अभिनेता प्रदीप खड्का र निर्देशक मिलन चाम्सले अंकमाल गर्दै देखावटी मित्रता प्रस्तुत गरे ।
फिल्म 'प्रेमगीत' पछि निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मासँग प्रदीपको बोलचाल बन्द भएको थियो । 'लिलिबिली' बाट मिलनसँग । यस्तै, उनको 'लिलिबिली' स्क्रिप्ट राईटर प्रदीप भारद्धाजसँग पनि 'पानी बाराबार' रहेको छर्लङ भएको छ ।
आइतवार साँझ फिल्मीखबर डटकममा प्रकाशित 'हिरोइन बिनै प्रदीपको ‘लभ स्टेशन’ घोषणा' शिर्षकको समाचार आफ्नो आधिकारिक फेसबुकमा शेयर गर्दै कथाकार भारद्धाजले अभिनेता खड्कामाथी चोटिलो व्यंग्य प्रहार गरेका छन् । प्रदीपलाई उनले बलिउडका आमिर खान र हलिउडका लियोनार्दोसँग दाँजेका छन् ।
उनी फेसबुकमा लेख्छन्, 'प्रदिप खड्का त्यो लेवलको स्टार हुन्, न उनलाई निर्देशक चाहिन्छ, न हिरोइन, न स्कृप्ट । उनी एक्लै फिल्म धान्न सक्छन् । जुन काम आमिर खान र लियोनार्दोले गर्न सक्दैनन् उनी त्यो पनि गर्न सक्छन् । उनलाई त सफलताको शुभकामना पनि चाहिँदैन । उनी त्यसै सफल छन् ।'
.jpg)
'आम मानिस होइनन् उनी । उनी नवम चिरन्जिबी हुन् । हलिउडमा जन्मनु पर्ने कलाकार हुन् उनी । उनको डिएनए नै फरक छ । २३ जोडी क्रोमोजमको तथ्य र डार्बिनको सिद्वान्त फेल खान्छ उनको अगाडि', उनी अगाडि लेख्छन्, 'म चाहिँ म्याथको स्टुडेन्ट परे । त्रिभुज जत्रो भएपनि आन्तरिक कोणको योगफल एकसय ८० डिग्री हुन्छ र यो पूरा ब्रम्हाण्डलाई एउटा सर्किलभित्र अटाउन सकिन्छ । हे हे ।'
‘लिलिबिली’ रिलिजपछि यसका निर्देशक चाम्ससँगै निर्माता सुदीप खड्का र स्क्रिप्ट राईटर प्रदीप भारद्धाजसँगै अभिनेता प्रदीपको सम्बन्ध चिसिएको हो । अहिले यो टिमले अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘ब्याचलर बन्टी’ निर्माण गर्दैछन्, जसको निर्देशकमा चाम्स, निर्मातामा सुदीप खड्का र कथा प्रदीपले लेखिरहेका छन् ।

