
अविरल वर्षाका कारण तराई क्षेत्रको जनजिवन अहिले कष्टकर बनेको छ। बाढीका कारण मोरङ, सुनसरी, झापा, मध्यतराईको जनकपुर लगायतका ठाउँमा हजारौ मानिसहरु विस्तापित भएका छन् । कतिले परिवासका सदस्य गुमाएका छन् भने कतिको ओत लगाउने छानो पनि छैन ।
पानीले तराई क्षेत्र जलमग्न बन्दा यसको असर नेपाली फिल्मको व्यापारमा समेत परेको छ । सिनेमा घरमा पानी टिलपिल हुनु, बाढीका कारण दर्शकहरुमा त्रास उत्पन्न हुनु र अधिकांश बाढी पीडितको सहायतामा जुटेका कारण तराई क्षेत्रका हलहरु अहिले सुनसान बनेका छन् । साउन २७ गते प्रदर्शनमा आएको निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म 'संरक्षण'ले बाढीका कारण ठूलो नोकसान खेप्नु पर्यो । प्रदर्शनको दिनबाट नै लगातार वर्षा भएपछि 'संरक्षण' तराईका २१ शहरहरुमा प्रदर्शन भएन ।
'संरक्षण'लाई मात्र बाढीले असर गरेन । शुक्रवारबाट प्रदर्शनमा आएको 'ग्याङ्गस्टर ब्लूज' र 'भुइँमान्छे'लाई पनि बाढीका कारण ठूलो नोकसान भएको छ । बाढिको चपेटामा परेको पुर्वी नेपालका केहि जिल्लामा यी फिल्म रिलिज भएका छैनन् । पूर्वको तराई क्षेत्र नेपाली फिल्मका लागि ठूलो बजार मानिन्छ । तराई क्षेत्रमा मात्र होइन बाढीबाट प्रभावित नभएको जिल्लाहरुमा पनि वर्षाका कारण फिल्मको व्यापारमा कमी आएको छ । अहिलेपनि लगातार रुपमा वर्षा भैरहेका कारण तराई क्षेत्रमा अझ केही हप्ता फिल्मको व्यापार ठप्प हुने देखिएको छ ।

