Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँखा दान गर्नेमा राजेशदेखि करिश्मासम्म

फिल्मीखबर, काठमाण्डौ, 2017/08/18
 
पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरूका लागि मृत्युपश्चात नानी दान गर्नेहरूको संख्या बढ्दै गएको पाइएको छ । आफ्नो मृत्युपश्चात नेत्रदान गर्दा दृष्टिविहिनले संसार देख्न पाउने भएकाले आँखा दानलाई महादानको रूपमा मानिसहरूमा चेतनास्तर बढ्दै गएकाले आँखा दान गर्न चाहने दाताहरू बढ्दै गएका हुन् । आँखा दानको इच्छा गर्नेको संख्या ६० हजार दुई सय ३४ पुगेका छन् भने आँखा बैंकले स्थापनाको २३ वर्षमा आठ हजार पाँच सय २८ आँखाका नानी प्राप्त गरेको छ । 
 
मृत्युपछि आँखा दान गर्नेमा नेपाली कलाकारहरु पनि छन् । आँखा बैंकले दिएको जानकारी अनुसार, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धर, शान्ति मास्के लगायतका कलाकारहरुले आँखा दान गरेका छन् । आँखा दान जो सुकै व्यक्तिले गर्न सक्छन । तर, दाताको आँखा स्वस्थ हुनुपर्छ । जुनसुकै उमेर समूह तथा आँखाको पावर कम वा बढी भएका, चस्मा वा लेन्स प्रयोग गरेका सबैले आँखा दान गर्न सक्ने बैंकका प्रबन्धक शंखनारायण त्वाय्नाले बताए ।   
 
बैंकले नेपाल आँखा कार्यक्रम अन्तर्गत आँखा दान र प्रत्यारोपणको काम गर्दै आएको छ । पहिले आँखाको नानी विदेशबाट ल्याउने गरिएकोमा अहिले नेपाल मै दान गर्नेको संख्या बढेपछि देश भित्रबाटै संकलन गरि विभिन्न अस्पतालमा प्रत्यारोपणको सुविधा उपलब्ध गराएको बैंकले दाबी गरेको छ । 
 
हाल ४ करोड ५० लाख व्यक्ति दृष्टिविहीन छन् । प्रत्येक १० दृष्टिविहीनमध्ये ८ को उपचार सम्भव रहेको छ । नेपालमा दृष्टिविहीनको समस्या भोगेकामध्ये ६५ प्रतिशतमा मोतियाबिन्दु देखिएको छ । न्युयोर्क सहरमा सन् १९४४ मा सर्वप्रथम आँखा बैंक खुलेको थियो । नेपालमा भने १९९४ मा पहिलोपटक आँखा बैंकको स्थापना भएको हो ।
Most Visited News (monthly)