
सलमान खानको फिल्म 'ट्यूबलाइट' बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन, जसका कारण सलमानले डिस्ट्रिब्यूटर्सलाई घाटाको भरपाई गर्दै ३२ करोड रुपैयाँ दिए । अब यो शाहरुख खानको पालो आएको छ । फिल्म 'जब ह्यारी मेट सेजल' ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न नसकेपछि केही डिस्ट्रिब्यूटर्सले शाहरुखसँग घाटाको पैसा फिर्ता गर्न आग्रह गरेका छन् ।
सुत्रका अनुसार, फिल्म डिस्ट्रिब्यूटर्सले शाहरुख खानलाई म्यासेज पठाएर सलमान खानको कदममा चल्न अनुरोध गरेका छन् । यो पहिलो पटक हो, शाहरुख खानसँग डिस्ट्रिब्यूटर्सले यस्तो माग गरेका छन् । यसभन्दा अगाडि पनि शाहरुखले आफ्नो फिल्म दिलवालेले राम्रो व्यापार गरेपनि डिस्ट्रिब्यूटर्सलाई घाटाको भरपाई गरेका थिए ।
जब ह्यारी मेट सेजलले भारतबाट प्रदर्शनको दुई हप्तामा ६० करोड र विदेशबाट पनि झण्डै ६० करोडको विजनेश गरेको छ । भारत र विदेश प्रदर्शन जोड्ने हो भने फिल्मले हालसम्म सय करोड ग्रस विजनेश गरिसकेको छ ।
'रब ने बना दी जोड़ी' र 'जब तक है जान' पछि शाहरुख र अनुष्काको यो तेस्रो फिल्म हो । फिल्ममा शाहरुख 'हरिंदर सिंह नेहरा' उर्फ 'ह्यारी' र अनुष्का 'सेजल झावेरी' को भूमिकामा छन् । इम्तियाज अलीको निर्देशनमा बनेको फिल्म 'जब ह्यारी मेट सेजल' दुई अपरिचित ह्यारी र सेजलको कहानी हो ।
शाहरुखले एक पंजाबी टूर गाइडको भूमिका निर्वाहा गरेका छन्, जबकि अनुष्का एक गुजराती यूवतीको भूमिकामा देखिएकी छिन् । यो फिल्मको निर्माण शाहरुख खानको होम प्रोडक्शन कम्पनी रेड चिलीज इन्टरटेन्मेन्टले गरेको हो ।

