
प्रत्येक हप्ताको शुक्रवार एकभन्दा बढी फिल्मको भिडन्त हुने शिलशिलाले यो हप्ता पनि निरन्तरता पाएको छ । यो हप्ता दुई फरक स्वादका नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन । 'ग्याङ्गस्टर ब्लूज' र 'भूइँमान्छे' आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएका छन् । यी दुवै मल्टिप्लेक्स केन्द्रित फिल्म हुन् । प्रिमियरमा दुवै फिल्मले मिश्रित प्रतिक्रिया पाएका थिए ।
ग्याङ्गस्टर कथामा आधारित भएर निर्माण भएको फिल्म 'ग्याङ्गस्टर ब्लूज' र शव चिर्ने व्यक्तिको मनोविज्ञानमा आधारित फिल्म 'भूइँमान्छे'ले दर्शकलाई हलसम्म आकर्षण गर्लान् ?
दुई फिल्महरुबारे छोटकरीमा चर्चा गरौं :-
‘भूइँमान्छे’
फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । नवराज बुढाथोकीले फिल्म निर्देशन गरेका हुन् ।
'ग्याङ्गस्टर ब्लूज'
लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म 'ग्याङ्गस्टर ब्लूज'मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

