अहिलेका ब्यस्त मोडल तथा नायक हुन् पल शाह । दुईसय बढी म्युजिक भिडियोमा अभिनय गरेका पलले विकास आचार्य निर्देशित ‘नाई नभन्नु ल-४’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए । उनको डेब्यू फिल्म नै हिट भएको थियो । 'तिम्रो यादमा रहन्छु'बाट म्यूजिक भिडियोमा हिट मोडल बनेका पल अभिनित दोस्रो फिल्म 'म यस्तो गीत गाउँछु' गएको महिनाको असार ३० गते प्रदर्शनमा आएको थियो ।
म्यूजिक भिडियोबाटै लोभलाग्दो फ्यान क्रेज बनाएका पललाई दोस्रो फिल्मले पनि हिट नायकको सूचीबाट तल झारेन । 'म यस्तो गीत गाउँछु'बाट अझ पलको लोभलाग्दो क्रेज बन्यो । 'नाई नभन्नू ल ४' र 'म यस्तो गीत गाउँछु'बाट पलले आफूलाई सम्भावना बोकेको स्टार नायकको सूचीमा त उभ्याए तर उनको क्रेजले फिल्म चल्छ वा चल्दैन यसको प्रमाणित भने अझै भएको छैन ।
अब यसको तय तेस्रो फिल्म 'जोनी जेन्टलम्यान'ले गर्नेछ । किनकी, 'नाई नभन्नू ल ४' र 'म यस्तो गीत गाउँछु' लभस्टोरी फिल्म थिए तर 'जोनी जेन्टलम्यान'मा पललाई एक्सन अवतार देख्न सकिन्छ । 'जोनी जेन्टलम्यान' पलका लागि स्टारडमको परिक्षा हो भन्दा सायद फरक नहोला । फिल्म 'जोनी जेन्टलम्यान' हिट भए पलले सफल फिल्ममा ह्याट्रिक मार्नेछन् ।
यसअघि फिल्म 'जोनी जेन्टलम्यान' 'म यस्तो गीत गाउँछु'भन्दा अगाडि प्रदर्शनमा आउने तयारीमा थियो तर स्थानीय तहको निर्वाचनका कारण प्रदर्शन मिति सरेर भाद्र ३० गते पुग्यो । 'म यस्तो गीत गाउँछु' हिट भएका कारण पलको क्रेजले 'जोनी जेन्टलम्या'नलाई पनि फाइदा पुग्ने पक्का छ । यो फिल्ममा पल शाह र आँचल शर्मा मुख्य भूमिकामा छन् । नितिन चन्दले निर्देशन गरेको फिल्मलाई एन्ड्रियु पौडेलले निर्माण गरेका हुन् ।