अभिनेत्री रेखा थापाविरुद्ध ठगीको उजुरी परेको छ । एक लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै खोटाङ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी परेको हो ।
सगरमाथा जनसेवा समाजले आयोजना गरेको कार्यक्रममा आउनका लागि रेखालाई दुई महिना अगाडि नै खबर गरिए अनुरुप कार्तिक २० गते सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ उनकै खातामा जम्मा गरिएको खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीले उजुरीका आधारम जानकारी दिए ।
कार्यक्रममा आउने बाचा गरेर नआएको भन्दै रेखाविरुद्ध ठगी गरेको भन्दै उजुरी परेको हो । अभिनेत्री थापाले भने आफूलाई फसाएको बताएकी छिन् । प्रकाश पुरी नाम गरेका युवकले सम्झौता नगरी पैसा पठाएर कार्यक्रमामा पुग्ने 'फिक्स' गरेको रेखाको भनाई छ ।

सम्झौता नभई कार्यक्रममा जाने काम आफूले कहिले नगरेको उनले बताएकी छिन् । जान्न भनेको कार्यक्रमको पैसा पठाएको कुरा पछी मात्र आफूले थाहा पाएको रेखाको भनाई छ । रेखाले आफू ठग नभएको भन्दै उल्टै आफूलाई ठगेको बताईन् ।
कार्यक्रम सुरु हुने समयसम्म पनि आउँछु भनेर रेखा सम्पर्क बिहिन भएको र अहिलेसम्म रकम फिर्ता नगरेपछि उजुरी गरिएको प्रकाश पुरीले बताएका छन् । अभिनेत्री थापाले प्रहरीको फोन नउठाएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी नायब निरीक्षक गोविन्द खवासले बताए ।

