करिब ८ बर्ष बोलचाल बन्द भएका अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापा केही समय अगाडि एक साथ देखिए । रेखालाई भेट्न निखिल उनकै अपार्टमेन्टमा पुगेपछि दुई जनाको सम्बन्ध सुध्रिएको हल्ला चले । निखिलले आफ्नो निर्देशन रहने फिल्म ‘भैरव’मा रेखालाई आइटम गर्न अनुरोध गरेको र रेखा सकारात्मक रहेको खबर बाहिरिएको थियो तर रेखाले पछि इन्कार गरिन् ।
फिल्ममा भएको आइटम मेनुका प्रधानको भागमा गयो । सोही समयमा निखिल र रेखालाई लिएर निर्माता गोपाल कायस्थले फिल्म बनाउने चर्चा पनि चल्यो । कायस्थले ‘लुटेरा’ बनाए पनि तर त्यसमा पनि रेखा अटाइनन् । उनै कायस्थले अब निखिल र रेखालाई लिएर नयाँ फिल्म बनाउन लागेको जानकारी दिएका छन् । फिल्मको नाम तय नभएपनि निखिल र रेखासँग संझौता भैसकेको र केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी गराउने कायस्थको भनाई छ ।
रेखा र निखिलले एकसाथ पर्दा शेयर नगरेको ८ बर्ष बढी भैसकेको थियो । रेखा र निखिलको माग अहिले बजारमा उच्च भएकाले पनि कायस्थले दुइलाई फिल्ममा लिन लागेका हुन् । उनले फिल्मका लागि नयाँ निर्देशकको खोजी भैरहेको पनि बताएका छन् ।

