सत्य कथामा आधारित भनिएको बलिउड फिल्म ‘बाजिराव मस्तानी’ रिलिज टिम पूर्व नै अफ्ठ्यारोमा परको छ । फिल्मले ऐतिहासिक तथ्यलाई बङ्ग्याएको तथा तलमाथि पारेको भन्दै रिलिज पूर्व नै समिक्षा हुनुपर्ने मागसहित महाराष्ट्र सरकार समक्ष उजुरी परेको हो ।
डिसेम्वर १८मा रिलिज हुने यो फिल्मको सार्वजनिक प्रोमो तथा टिजरले नै सत्य कहानीलाई गलत रुपमा प्रस्तुत गरेको भन्दै बाजिराव पेशवाको तर्फबाट प्रसादराव पेशवाले उजुरी दर्ता गराएका हुन् । उनले महाराष्ट्र मुख्यमन्त्री देवेन्द्र फड्वसिसलाई उजुरी पत्र बुझाएका छन् ।
अर्को तर्फ बाजिराव पेशवाकी श्रीमतीसँग नृत्य गरेको कुनै ईतिहास नै नरहेको भन्दै फिल्ममा दुई नायिका दिपिका पादुकोण र प्रियंका चोपडाको नृत्य समावेश गर्नु निर्माण टिमको ठूलो भूल भएको उजुरी पत्रमा उल्लेख छ । त्यस्तै बाजिराव परम्परामा सांस्कृति नृत्य मात्रै रहेको तथ्य रहेपनि यो फिल्ममा सांस्कृतिक नृत्यलाई आईटम नम्वर बनाएकोमा महाराष्ट्र सरकार समक्ष पेश गरेको उजुरी पत्रमा आपत्ति प्रकट गरिएको बलिउड मिडियाले लेखेका छन् ।
सत्य कथा भनेर प्रचारबाजी गरिएपनि हालसम्म सार्वजनिक ट्रेलर तथा गीतले सत्यतालाई न्यान नगरेको जिकिर समेत गरिएको छ । संजयलिला भंसालीको यो फिल्ममा दिपिका र प्रियंकासँगै रणविर सिंह लिड रोलमा छन् ।

