फिल्म ‘हँसिया’मा अभिनेता अनुप विक्रम शाहीले गरेको कामको खुबै तारिफ भयो । खलनायकको रुपमा अनुपले गरेको कामको तारिफ मात्र भएन उनले सोही फिल्मबाट केही अवार्ड पनि पाए । तर, फिल्मले सोचे अनुसारको व्यापार नगर्दा अनुपको चर्चा हरायो । राम्रो लुक्स र राम्रो काम गर्ने भनेर फिल्म जगतमा चर्चा भएपनि अनुपलाई दर्शकले पत्याएका छैनन् ।
फिल्म ‘सौर्य’मा पनि अनुपको कामको चर्चा त भयो, तर उनको स्टारडमले दर्शकलाई हलमा तानेन । फिल्म ‘ठमेल डटकम’को प्रचारलाई हेर्ने हो भने त अनुपले एकलौटी बजार तताएका थिए । फिल्ममा समावेश गीतले यति धेरै चर्चा पायो कि अनुप विक्रमलाई अब नयाँ स्टारको रुपमा पनि हेरियो । अनुपको लुक्स, गीतको लोकेशन र चर्चाले निर्माण कम्पनी गोपिकृष्ण मुभिज ‘ठमेल डट कम’ चल्ने कुरामा ढुक्क थियो । तर, दसैको विदामा पनि यो फिल्मलाई सफलता मिलेन ।
फिल्म नचलेपनि अनुपका हातमा केही फिल्म छन् । तर, उनको सफल अभिनेता बन्ने सपना अझै पुरा भएको छैन । ‘ठमेल डट कम’मा अनुपले पाएको जस्तो सफलता अरु कुनै अभिनेताले पाएको भए सायद केही उकालो लाग्थे होलान् । तर, अनुपलाई लक लागेको छैन । हुँदा हुँदा प्रेमिका मलिना जोशीले समेत उनको साथ छोडेको चर्चा छ । मलिना केही समययता अमेरिकामा छिन् ।उनले नै अभिनय गर्ने भनेको फिल्म न्यू इयर पनि नबन्ने जस्तो देखिएको छ । अनुपका लागि आखिर हिट फिल्म कहिले आउला ?

