सधैंं फिल्मको छायाँकन तथा प्रोडक्शनको काममा व्यस्त हुने प्राविधिकहरुलाई अहिले आफ्नै संस्थाको चुनावले छोएको छ । साधारणसभाको मिति मंसिर ९ नजिकिँदै गर्दा ‘चलचित्र प्राविधिक संघ’ (नेफ्टा)मा चुनावी सरगर्मी बढ्दो छ ।

नेतृत्वको लागी दाबी गरेका वर्तमान उपाध्यक्ष पुष्कर लामा र महासचिव अनन्त तिमिल्सिना आफ्नो आफ्नो पक्षमा पकड जमाउनको लागी दौडधुपमा व्यस्त छन् । दुवैजनाले आफ्नो जित सुनिश्चित रहेको बताईरहँदा ३ सय बढी सदस्य रहेको नेफ्टामा कस्को पल्लाभारी हुन्छ अहिले नै अड्कल काट्न गार्हो देखिएको छ ।
अर्को तर्फ प्राविधिकहरुसँग मैदानमा छलफल गर्नभन्दा पनि केहि प्राविधिकहरुमाझ पकड जमाएका फिल्म उद्योगमा टाउके मानिने निर्माता निर्देशकहरुकोमा भोट माग्न अध्यक्षमा आकांक्षीहरु लागिपरेको पाईएको छ । अध्यक्षमा उमेद्वारी प्रस्तुत गरेका अनन्त र पुष्कर कहिले चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईकोमा त कहिले निर्माता संघदेखि निर्देशक समाज र कलाकार संघ हुँदै चलचित्र संघका पदाधीकारीको घरदैलो तथा अफिसमा भोट मागिदिन आग्रह गर्दै धाएको भेटिन्छ ।
घोषित रुपमा दुबै जनाले प्यानल नबनाएको भएपनि बर्तमान उपाध्यक्ष पुष्कर लामाले कार्यसमितिको लागी १७ जनाको नाम भित्रभित्रै तयार पारिसकेको ड्राफ्ट फिल्मीखबरले प्राप्त गरेको छ । आफ्नो जीत निश्चित रहेको दाबी गरेका पुष्करले केहि दिनमा नै प्यानल घोषणा गर्ने तयारी गरेको श्रोत बताउँछ ।
अर्को तर्फ बर्तमान महासचिव अनन्त तिमिल्सिनाले पनि प्राविधिकहरुको पक्षमा लड्दै आएको र महासचिवमा रहँदा संस्थाको लागी धेरै योगदान दिएको भन्दै जीत सुनिश्चित रहेको दाबी गर्दै आएका छन् । धेरै प्राविधिकहरु आफ्नो पक्षमा रहेको उनको दाबी छ ।
खास कुरा त दुबै उमेद्वारले प्राविधिकहरुको हक र हितको लागी हरेक व्याक्तिको पक्षमा लड्दै आएको भन्ने बाहेकका नयाँ र खास एजेण्डा मैदानमा प्रस्तुत गर्न सकेका छैनन् । त्यसैले पनि कसको पक्षमा पल्लाभारी हुने हो त्यो निर्क्यौल चुनाबले मात्रै लाग्ने देखिएको छ भने प्राविधिक संघ भित्रकै एक टिम भने सर्वसम्मत रुपमा कार्यसमिति चयनको लागी भन्दै छलफलमा जुटेको छ ।
नगेन्द्र घिमिरे सहितको केहि प्राविधिकहरुको टिम सर्वसम्मत कार्यसमितिको लागी कसरतमा देखिएको भए पनि अध्यक्षका प्रत्यासी दुबै जना पछि हट्ने अबस्था देखिएको छैन । त्यसैले नेफ्टाको नयाँ नेतृत्वमा को आउँछ त्यसको लागी मंसिर ९ को रात पर्खिनै पर्ने देखिन्छ ।

