दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ शीर्षकको फिल्म महोत्सव बिहीबारबाट सुरु भएको छ । भारतीय फिल्म निर्देशक अदूर गोपालकृष्णनले ललितपुरको यलमाया केन्द्रमा महोत्सवको उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै प्रमुख अतिथि अदूरले काठमाडौं आउनुअघि यहाँको अवस्था सुनेर महोत्सव कसरी होला भन्ने कौतुहलता रहेकामा यहाँ आईसकेपछि यहाँको तयारीले विश्वस्त तुल्याएको बताए ।
दक्षिण एसियामै निर्भिक रुपले वृत्तचित्र बनाउनु अत्यन्त चूनौतीपूर्ण काम भएको उल्लेख गर्दै उनले यस्तो चूनौतीको सामना गर्ने वृत्तचित्र निर्माताको प्रशंसा गरे । औपचारिक उद्घाटन अघि अदूरले दुई घन्टा मलयाली फिल्म उद्योग र आफ्ना फिल्म सम्बन्धी जिज्ञाषाको उत्तर दिएका थिए ।भारतीय फिल्मकर्मीले पाउने सर्वोच्च सम्मान ‘दादासाहेब फालके’बाट समेत विभूषित अदूर भारतकै उत्कृष्ट निर्देशकमा पर्छन् ।
१६ पटक ‘नेसनल फिल्म अवार्ड’ जितिसकेका उनी सन् १९८४ मा पद्मश्री र सन् २००६ मा पद्मविभूषणबाट सम्मानित भइसकेका छन् ।महोत्सवको पहिलो दिन ‘आइ कान्ट वि म्याड एट अल्लाह’, ‘आन्टी गंगा’,‘साउथ अफ दी सिटी’,‘ब्लरिंग लाइन्स’, ‘मदरसा’, ‘टायर्स’,‘सागर मानव’ र ‘ग्वाण्डी क्राइम और क्यामरा’ नामक डकुमेन्ट्रीहरु प्रदर्शन गरिएका थिए । उद्घाटन फिल्मको रुपमा भने रम्यता लिम्बु र एमी बेन्सन निर्देशित ‘ड्रइङ दि टाइगर’ देखाईएको थियो । वृत्तचित्रले रामेछापस्थित एक दलित परिवारको भोगाइलाई विषय बनाएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुने फिल्म साउथ एसियाले यसपालि प्रदर्शनका निम्ति छनोट गरेको ३५ वटा डकुमेन्ट्रीमध्ये एउटा स्वयं अदूरको फिल्म निर्माण कलामाथि बनेको ‘फिट अपन दि ग्राउन्ड’ पनि छ । तीन घन्टा लामो यो डकुमेन्ट्रीलाई विपिन विजयले निर्देशन गरेका हुन् ।तीनदिने महोत्सवमा बंगलादेश, अफगानिस्तान, म्यानमार, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका ४३ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवको यो १० औं संस्करण हो ।सर्वोत्कृष्ट फिल्मले दुई हजार अमेरिकी डलर, दोस्रो र नयाँ फिल्ममेकरले एक–एक हजार डलर पुरस्कार पाउनेछन् । महोत्सवमा फिल्मसम्बन्धी कार्यशाला र छलफल हुनेछन् ।

