भारतले गरेको अघोषित नाकाबन्दीविरुद्व फिल्मकर्मीले जागरण अभियान थालेका छन् । आइतबार भएको फिल्मकर्मीको भेलाले तत्कालिक तथा दीर्घकालिन कार्ययोजना प्रस्तुत गर्दै जागरण अभियान थाल्ने निर्णय गरेको हो ।
कलाकार हरिहर शर्मा संयोजक र केपी पाठक सदस्य सचिव रहेको अभियानले भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन, खाद्य सामाग्री तथा औषधीको संकट भएकाले समाधानका लागि सबै पक्षलाई दबाब दिने निर्णय गरेको छ ।
यसका लागि अभियानले सरकार, राजनीतिक दल र आन्दोलनरत मधेशी मोर्चालाई बेग्लाबेग्लै ज्ञापनपत्र बुझाउने निर्णय गरेको सदस्य सचिव केपी पाठकले बताए ।त्यसैगरी उनले भारतीय राजदूतलाई भेटी नेपाली जनताले भोगिरहेको संकट समाधानका लागि आग्रह गर्ने निर्णय भएको जानकारी गराए । फिल्मकर्मीले सांकेतिक रुपमा नाकाबन्दीको विरोध गर्नुका अलावा भारतलाई दवाव दिन अन्तर्राष्ट्रिय फिल्मकर्मीलाई आग्रह गर्ने निर्णय गरेका छन् ।

