बिगत १२ वर्षदेखि निरन्तर चलिरहेको हास्य टेलिशृंखला ‘तीतो सत्य’ बन्द भएको छ । शृंखला निर्देशक दीपकराज गिरीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै टेलिशृंखला बन्द भएको जानकारी गराएका हुन् ।
दशैंअघि मात्र ‘तीतो सत्य’ले ६०० सय शृंखला पूरा गरेको थियो । विषय वस्तु दोहोरिरहने र दर्शकको रुचीलाई समयसापेक्ष सम्बोधन गर्न नसकेको अनभूत गर्दै बन्द गर्ने निर्णय गरेको गिरीले फेसबुकमा लेखेका छन् । फेसबुक स्टय्याटसमा दीपकले लेखेका छन् , ‘जबर्जस्ती कार्यक्रम लम्ब्याई रहनुभन्दा पछाडि हट्नु उपयुक्त ठानी १२ वर्षे यात्रालाई पूर्ण बिराम दिने निर्णय गरेका छौं ।’
भविष्यमा भने उनले नयाँ हाँस्य शृंखला र फिल्म निर्माणलाई निरन्तरता दिने संकेत गरेका छन् । २०५० सालमा सुरु भएको शृंखला लामो समयसम्म नेपाल टेलिभिजनको सबैभन्दा बढी हेरिने कार्यक्रमको रुपमा रहेको थियो ।

