निर्माता निर्देशक शोभित बस्नेतका भुईंमा खुट्टा छैनन् । नहुन् पनि किन ? रिलिज नहोला कि भनेर थन्किएको फिल्म रिलिज हुने मात्र होइन ५ दर्जन भन्दा बढी हल पाउने भएपछि शोभित दंग परेका हुन् । एउटा समूहका वितरकको सेखी झार्न अर्को वितरकको समूहले ‘जाऊँ हिँड पोखरा’ च्यापेपछि शोभितका दिन फर्किएका हुन् ।
शोभितको फिल्मले हल त पाउने निश्चित छ तर दर्शक पाउने नपाउने टुंगो छैन । किनकी सबैभन्दा पहिलो त फिल्म बासी भईसकेको छ त्यसमाथि फिल्मको प्रचार प्रसार कमजोर । फिल्मका मुख्य कलाकार मध्ये जीवन अमेरिका छन् भने रेखा आफ्नै फिल्ममा व्यस्त । रेखा देशमै भएपनि आजभोलि आफ्नो ब्यानर बाहेक फिल्मको प्रमोसनमा विरलै निस्किन्छन् । त्यसैले पनि शोभितको फिल्मलाई हल ‘हात्ति आयो हात्ति आयो फुस्सा’ हुन बेर छैन ।
‘कबड्डी कबड्डी’को ट्रेलर पहिलो भाग जत्ति सशक्त नभएपनि नेपाली फिल्म उद्योगले यो वर्ष पर्खेका केही सिनेमा मध्येको एक हो ‘कबड्डी कबड्डी’ । अघिल्लो फिल्मको ‘गुडविल’ नै यो फिल्म चल्ने पहिलो आधार हो । सँगैमा सौगात र दयाहाङ राईका हार्डकोर फ्यानले पनि यो फिल्म छुटाउने छैनन् । त्यसैले ‘जाउँ हिँड पोखरा’ले ‘कबड्डी कबड्डी’सँग भिड्ने हो भने थप प्रयत्न गर्नुपर्नेछ । र त्यसका लागि फिल्म अभिनेत्री रेखा थापा मुख्य अस्त्र हुनसक्छिन् । किनकी आज पनि रेखालाई हेर्न चाहने दर्शकको कुनै कमी छैन । यदि उनले अगाडि आएर फिल्म हेर्न आह्वान गरे निश्चय नै केही न केही दर्शक उनलाई हेर्न आउनेछन् ।

