अभिनेता निखिल उप्रेतीको जुंँगा अभिनेत्री निशा अधिकारीलाई खुबै मन परेछ । यही शुक्रबार देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लुटेरा’को औपचारिक कार्यक्रममा उपस्थित निशाले कार्यक्रममा फिल्मको कम निखिलको जुँगाको ज्यादा तारिफ गरिन् । निशाले निखिललाई जुँगा खुबै सुहाएको र पहिले भन्दा अहिले झन् योङ र ह्यान्डसम देखिन थालेको निशाको भनाई थियो ।
फिल्म ‘लुटेरा’को पत्रकार सम्मेलनमा निखिलले पनि निशाको प्रशंशा गर्न छुटाएनन् । उनले पनि निशाको खुलेर तारिफ गरे । निखिल उप्रेतीको जुंगाको प्रशंसा गरेकी निशाले निखिलबाट भने कपालको प्रशंसा थापिन् । निशालाई छोटो कपालमा काम गर्न निखिलले नै सल्लाह दिएका थिए । ‘मैले मन पराको अवस्था’ बोलको गीतमा निशालाई छोटो कपालमै नृत्य गर्न निखिलले नै निशालाई सुझाएका थिए ।
गोपाल कायस्थको प्रस्तुतीमा तयार भएको यो फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । फिल्म राम्रो बन्नका लागि सम्पूर्ण टिम र कलाकारको महत्वपूर्ण भूमिका रहने भन्दै दयारामले ‘लुटेरा’मा त्यो पाएको बताए । वितरक तथा प्रस्तुतकर्ता गोपाल कायस्थले फिल्मको छायांकनदेखि नै खुबै तनाव भएपनि फिल्मको सेन्सर भएपछि भने आफूलाई ढुक्क भएको बताए ।
नेपाली फिल्ममा अश्लिलता फैलिएपछि दर्शक हलसम्म आउन छाडेको भन्दै उनले यसका लागि आफू फिल्म निर्माणमा आएको बताए ।कार्यक्रममा फिल्मको टे«लर र ३ गीत सार्वजनिक गरिएको थियो । अभिनेता निखिल उप्रेतीले हिन्दी फिल्म भन्दा नेपाली फिल्म केही कमजोर बनेपनि अहिले नेपाली फिल्मलाई माया गर्नुपर्ने अवस्था रहेको बताए । फिल्ममा सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।

