जतिबेला एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए, त्यो समयमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारमा निर्देशक विमल पौडेलले फिल्म ‘जनयुद्ध’बाट उत्कृष्ट निर्देशकको अवार्ड जिते । बिमलको निर्देशनमा बनेको यो फिल्मले अन्य मुख्य विधामा पनि अवार्ड जित्यो । माओवादी सरकारमा भएको समयमा माओवादीकै फिल्मले अवार्ड पाउँदा चर्को आलोचना पनि भयो ।
तर, राष्ट्रिय पुरस्कारमा उत्कृष्ट भएका निर्देशक विमल पौडेलले ‘जनयुद्ध’मा कथा वाचनमा कमजोरी भएको स्विकार गरेका छन् । फिल्म नागरिकका निर्देशक समेत रहेका उनले पत्रकारको प्रश्नमा जवाफ दिदै पहिलेको भन्दा उत्कृष्ट फिल्म बनाएको बताए । उनले आफूले पहिले बनाएका फिल्ममध्ये जनयुद्धमा कथा बाचन र १० बर्षको जनयुद्धको सबै कथा समेट्न खोज्दा कमजोरी भएको स्विकार गरेका हुन् ।
विमलले के त्यसो भए, ‘जनयुद्ध’बाट अवार्ड पाउनु गलत थियो त भन्ने एक पत्रकारको प्रश्नमा अरु भन्दा उत्कृष्ट भएकाले अवार्ड पाएको बताए । उनले ‘जनयुद्ध’ भन्दा पनि नागरिक धेरै माथि रहेकाले राष्ट्रिय पुरस्कार र अन्य अवार्डको आशा राख्नु स्वभाविक हुने पनि बताएका छन् ।तर, निर्देशकले नै कथा वाचन र प्रस्तुतीमा कमजोरी भएको स्विकारेपछि, उनले पाएको अवार्ड पनि गलत थियो भन्ने अर्थ लागेन र ।

