आउँदो शुक्रबार प्रदर्शन हुने फिल्म ‘नागरिक’ले देशमा चलिरहेको राजनीतिलाई प्रतिबिम्बित गर्ने निर्देशक तथा कलाकारले दाबी गरेका छन् । सोमबार अनामनगरमा भएको औपचारिक कार्यक्रममा उनीहरुले यस्तो दाबी गरेका हुन् ।फिल्मलाई बिमल पौडेलले निर्देशन गरेका हुन् । उनले फिल्मले नेपाली पर्दामा विरलै देखिने राजनीतिलाई फिल्मको विषयवस्तु बनाएको जानकारी गराए । ‘हामी कहाँ राजनीतिलाई केन्द्रमा राखेर फिल्म बनाउने परम्परा छैन भने नी हुन्छ । तर नागरिक यसको सुरुवात हो । फिल्मले नेपाली राजनीतिलाई दुरुस्त देखाउने प्रयास गरेको छ,’ पौडेलले भने ।
देशभरका तीन दर्जन भन्दा बढी पर्दामा रिलिज हुन लागेको फिल्ममा विश्व बस्नेत,रमेश बुढाथोकी, गणेश उप्रेति, सरिता गिरी, अनु शाह, दिव्यदेव पन्त, मोहन श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । फिल्मको मुख्य भूमिकामा रहेका रमेश बुढाथोकीले राजनीतिज्ञको चरित्रमा यसअघिका फिल्ममा काम गरेका भएपनि ‘नागरिक’मा जस्तो सशक्त भूमिका नगरेको दाबी गरे ।
त्यसैगरी अभिनेत्री सरिता गिरीले वर्तमान सन्दर्भलाई जोड्दै फिल्मले नारी राजनीतिज्ञका अप्ठ्यारालाई देखाउने टिप्पणी गरिन् ।‘आज जसरी देशका महत्वपूर्ण पदमा महिलाहरु पुग्नु भएको छ । त्यो सह्रानिय छ । तर उहाँहरुको यो सफलता यात्रा भित्र अनेकौं बाधा अड्कन छन् । मेरो चरित्रले पनि महिला नेतृले भोग्ने यस्तै व्यवधानलाई प्रस्तुत गरेको छ,’ गिरीले भनिन् ।
मनु इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई आयुश्री राजभण्डारी र शर्भानी राज्य दुलालले निर्माण गरेका हुन् । सत्यराज चौंलागाई फिल्मका कार्यकारी निर्माता हुन् । फिल्ममा बिमल पौडेलको लेखन, राजु थापाको छायांकन, लक्ष्मण शेषको संगीत र बनिष शाहको सम्पादन रहेको छ ।
फिल्मलाई करण श्रेष्ठ क्रेजीले वितरण गर्न लागेका हुन् ।

