
हिन्दी भाषामा डब भएर पहिलो पटक भारतमा प्रदर्शन हुने नेपाली फिल्मको इतिहार रच्न लागेको फिल्म ‘प्रेमगीत ३’को यसै हप्ता मुम्बईमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । उक्त कार्यक्रममा उपस्थित हुनका लागि नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, मुख्य कलाकारहरु प्रदीप खड्का, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, क्रिस्टिना गुरुङलगायत मुम्बई पुगेका थिए ।

कलाकार तथा कला निर्देशक उद्धव भट्टराई (जुङ्गे) को निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा आफू सवार बसमै निधन भएको जानकारी प्राप्त छ । ६६ वर्षका उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । आर्थिक अभावका कारण उनको उपचार राम्रोसँग हुन पाएको थिएन । लामो जुंगाका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।

हाँस्य कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशनमा बनेको फिल्म ‘हिजो आजका कुरा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेश’ बोलको वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रचना रहेको छ । गीतको भिडियोमा परदेश र नेपालमा बस्ने परिवारको कथालाई देखाइएको छ । गीतको अडियो पक्ष राम्रो छ ।

निर्माता, कलाकार, निर्देशक एवं नेपाली कांग्रेसका नेता रोज राणाको नाम प्रदेश सभा सदस्यमा सिफारिस भएको छ । कांग्रेस प्युठान प्रदेश (ख) का क्षेत्रीय सभापति समेत रहेका उनको नाम क्षेत्रीय समितिले पहिलो नम्बरमा राखेर जिल्लामा सिफारिस गरेको हो । अब कांग्रेसको प्युठान जिल्ला कमिटीले उनलाई प्रदेश सदस्यको उम्मेदवार बनाउने वा नबनाउने भन्ने कुराको निधो गर्नेछ ।

अचेल नेपालमा कि कमेडी फिल्म बनिरहेका छन् कि त रोमान्टिक लभस्टोरी । र, लभस्टोरी धार समातेका निर्देशक हुन्, सुदर्शन थापा । ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ जस्तो लभस्टोरीमा माइलस्टोन मानिने फिल्म दिएका उनी निर्देशित नयाँ लभस्टोरी फिल्म ‘सम्हालिन्छ कहिले मन’ले शुक्रवारबाट हलको दैलो टेकेको छ । फिल्मको भाग्य के लेखिएको छ, केही दिनमा पक्कै देखिनेछ ।

नेपाली फिल्म क्षेत्रमा उमेरको आधा समय विताइसकेका अभिनेता शिव श्रेष्ठलाई बाल्यकालमा पेन्टिङप्रति निकै रुचि थियो । स्कूल र कलेज जीवनमा उनले अनगिन्ती चित्र कोरे । तर, फिल्ममा आएपछि उनले चाहेर पनि आफ्ना हात पेन्टिङका रंगले रंग्याउन सकेनन् । फिल्ममा व्यस्त हुन थालेपछि उनको चित्र कोर्ने बानी पनि हराउँदै गयो । तर, ४१ वर्षपछि उनले बिहीवार पेन्टिङ ब्रस समातेर चित्र कोरे । पेन्टिङ नगरेको वर्षौं भएकाले उनका हात केही लरखरिएका थिए ।

