
राजनीतिक दलको कार्यकर्तालाई जागिर दिने संस्था भनिन्छ, चलचित्र विकास बोर्ड । कुनै पार्टी सरकारमा गयो भने त्यस पार्टीमा आबद्ध फिल्मकर्मीलाई बोर्ड अध्यक्ष वा सदस्य टिका लगाएर दिने चलन छ । तालुकवाला निकाय सूचना तथा सञ्चार मन्त्रालयले बोर्ड अध्यक्षका लागि आवेदन खुल्ला त गर्छ तर त्यो सिर्फ देखाउनलाई । अन्तिममा पार्टीलाई गुन लगाएका मात्रै बोर्डमा पुग्छन् ।

फिल्म निर्माणलाई जुँवाको खेल भन्ने गरिन्छ । यसको कारण हो, कमाए झ्याप्पै, नकमाए चुर्लुम्मै । यही कारण भनिएको हुनुपर्छ, ‘फिल्म चल्यो भने बोरामा पैसा खादेर फुर्सद हुँदैन, चलेन भने बोरा किन्न पैसा पनि हुँदैन ।’ फिल्म बनाएर बोरा किन्ने पैसा पनि नकमाएका निर्माता हुन्, रामप्रसाद रिजाल । उनले निर्माण गरेका फिल्महरु ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ चलेनन् ।

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘जय हो’को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरा र मुस्ताङमा छायांकन गरिने भएको छ । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत, निर्देशक टेक पौरखी राई र अभिनेता सलोन बस्नेतले हालै पोखरा र मुस्ताङको भ्रमण गर्दै लोकेशन ‘लक’ गरेका हुन् । मुस्ताङमा ९० प्रतिशत र पोखरामा १० प्रतिशत फिल्मको छायांकन हुनेछ ।

विशिष्ट श्रेणीको परिचयपत्रधारी चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको रकम प्राप्त गर्ने पहिलो कलाकार रामचन्द्र अधिकारी बनेका छन् । राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६,६०० बुधबार बोर्ड अध्यक्ष भुवन केसीले अधिकारीलाई प्रदान गरे । सो कार्यक्रममा मदनदास श्रेष्ठ, दिनेश डिसी, पूजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई उपस्थित थिए ।

रमेश एमके पौडेलको डेब्यू निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘झिलमिल झिलमिल’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । गीतले उनीहरुको प्रेम आशक्ति बोल्छ । भिडियोमा यो जोडीको केमेस्ट्री गजब सुहाएको देखिन्छ । साम्राज्ञीलाई बोल्ड र स्टाइलिस देखाइएको छ ।

गत साउन २० गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘आँधी तुफान २’ अन्तिम समयमा आएर पोस्टपोन्ड भयो । अब यो फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले आगामी माघ २७ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिए । वितरक कम्पनी आरआर फिल्म्ससँग छलफल गर्दै यो मितिमा प्रदर्शन गर्ने सहमति भएको उनले बताएका छन् ।

