
फिल्म ‘सिम्बा’पछि बलिउड सुपरस्टार रणवीर सिंहको स्टारडमको जादू बक्सअफिसमा देखिन सकेको छैन । अघिल्लो वर्षको ‘८३’ र यस वर्ष रिलिज भएको ‘जयेशभाई जोरदार’ दुवै फिल्म व्यवसायिक रुपमा असफल भएका थिए । यो सूचिमा फिल्म ‘सर्कस’ पनि थपिने लगभग निश्चित देखिएको छ । १ सय ५० करोडमा बनेको फिल्मले लगानीको आधा हिस्सा पनि उठाउन नसक्ने पक्का छ ।

२०७८ सालमा जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरेकी अभिनेत्री रेखा थापाले सन्तानका लागि अहिले आफ्नो उमेर नभइसकेको बताएकी छन् । बिहीबार फिल्म ‘ह्यारी कि प्यारी’को गीत रिलिज कार्यक्रममा पत्रकारले सोधेको बच्चाको प्रश्नमा उनले भनिन्, ‘भर्खर त म १६ वर्षकी भएँ । म अलि धार्मिक भएकाले जुर्नु पनि पर्छ भनिन्छ । तर, फिल्म र सन्तान सँगसँगै देख्न पाइन्छ ।’

अभिनेता आर्यन सिग्देलको कमब्याक फिल्म ‘डिसेम्बर फल्स’ले शुक्रवार (आज) बाट प्रदर्शन थालनी गरेको छ । एकल प्रदर्शनको दुर्लभ अवसर पाएको यो फिल्मसँग भिडन्त गर्न नेपाली मात्र नभई विदेशी फिल्म पनि छैनन् । दुई हप्ता अगाडिको हलिउड फिल्म ‘अवतार’ र अघिल्लो हप्ताको बलिउड फिल्म ‘सर्कस’ खस्किसकेकाले ‘डिसेम्बर फल्स’लाई सफलता हात पार्ने सुनौलो मौका छ ।

चलचित्र विकास बोर्डले ‘टेकिङ नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित दुबईमा ‘नेपाली सिनेमा फेस्ट २०२३’को आयोजना गर्ने भएको छ । बोर्डले निजी कम्पनी सुर्य कर्पोरेशनसँग सहकार्य गरेर फेस्टिभल आयोजना गर्न लागेको हो । बिहीबार बोर्डमा एक कार्यक्रमका बीच अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिइओ बाशुदेव लामिछानेबीच सम्झौताको कागजपत्र आदान-प्रदान भयो ।

फिल्म निर्माता तथा गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालद्वारा निर्देशित डेब्यू फिल्म ‘ह्यारी कि प्यारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘धरहरा हल्लियो’ बोलको गीतमा अभिनेत्री रेखा थापाले ठुम्का लगाएकी छन् । उनलाई फिल्मका दुई मुख्य कलाकार जितु नेपाल र विजय बरालले नृत्यमा साथ दिएका छन् । कविराज गहतराजले गीतमा कोरियोग्राफी गरेका हुन् ।

पाँच दिनअघि युट्युबमा सार्वजनिक भएको सञ्जय गुप्ताको पोडकास्टमा विराज भट्ट जत्तिको नेचुलर एक्सन गर्ने हिरो नेपालमा अरु नभएको भन्ने अभिव्यक्तिले अभिनेता आर्यन सिग्देल विवादित बनेका छन् । उनले अभिनेता निखिल उप्रेतीलाई बेवास्था गरेको भन्दै सामाजिक सञ्जालमा उनी र शुक्रवारबाट प्रदर्शन हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’विरुद्ध बहिष्कार अभियान नै चलिरहेको छ ।

