
यही फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म ‘परस्त्री’ चार महिना पछाडि सरेको छ । पूर्वघोषित मितिमा दुई ठूला नेपाली फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ आउने भएपछि निर्माण पक्षले आगामी असार १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । ‘लभ लभ लभ’ फिल्मका अभिनेता सुरज पाण्डेको निर्देशनमा बनेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

अभिनेत्री सहारा कार्की र अभिनेता तथा पूर्व सञ्चारकर्मी फिरोज तिमल्सिना विवाह बन्धनमा बाँधिने भएका छन् । हाल अमेरिकामा बस्दै आएका उनीहरुले आगामी जुन २६ (असार ११ गते) मा विवाह गर्न लागेका हुन् । केही दिनअघि फिरोजले सहारालाई औंठी लगाइदिँदै विवाहको प्रस्ताव राखेका थिए । र, सहाराले विवाहको प्रस्ताव स्वीकार गरेको खुसी फिरोजले फेसबुकमा साटेका छन् ।

दिवंगत कलाकार, गायक, संकलक, निर्देशक एवं निर्माता जयनन्द लामाको स्मृतिमा उनकै जन्मथलो सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमका बीच बाह्रबिसे–३ धार्पाको थिङटोलमा उनको निजी जग्गामै सालिक निर्माण गरी अनावरण गरेको हो । १२ फिट अग्लो सालिक कोषले ८ लाख रुपैयाँको बजेटमा बनाएको हो ।

गत कात्तिकपछि सुस्ताएको नेपाली फिल्मको बजारलाई अघिल्लो हप्ताको फिल्म ‘फूलबारी’ले धेरै हदसम्म चलायमान बनाएको छ । स्टार कलाकारका फिल्म समेत डुबिरहेको परिपेक्षमा यो फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गरेको छ । तर, फिल्मको व्यापार आक्रामक भने छैन । सार्वजनिक विदामा फिल्मले दर्शकको साथ राम्रो पाउने गरेको भएता पनि अन्य दिनमा औसत छ ।

नेपाली फिल्म इन्डस्ट्री अब कुनै ‘स्टार किड्स’को डेब्यूलाई लिएर अधैर्य छ भने त्यो सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या हुन् । फिल्ममा डेब्यू अगावै उनको सुन्दरतालाई लिएर भैरहेको चर्चा जति लोभलाग्दो छ, त्यसले उनको डेब्यूलाई लिएर दर्शकसँगै फिल्मकर्मीमा पनि चासो बढेको छ । केही फिल्मबाट दिव्यालाई अफर नपुगेको होइन तर उनले कुनैमा काम गर्ने मन देखाइनन् ।

टेक पौरखी राईको निर्देशनमा बन्न लागेको फिल्म ‘जय हो’मा कलाकार प्रवेशको क्रम रोकिएको छैन । अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीपछि फिल्ममा अर्की अभिनेत्री निशा अधिकारीको पनि प्रवेश भएको छ । शुक्रबार फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले निशासँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनको भूमिका कस्तो रहनेछ, त्यसबारेमा भने खुलाइएको छैन ।

