.jpg)
बलिउडमा कलाकारहरूले कहिलेकाहीँ यस्ता फिल्मको प्रस्ताव अस्वीकार गर्छन्, जसले पछि बक्स अफिसमा ठूलो सफलता हासिल गर्छन् । फलस्वरूप, उनीहरूलाई आफ्नै निर्णयप्रति पछुतो हुन्छ । अभिनेत्री नेहा धुपियाको हकमा पनि यस्तै भएको छ । उनले आफ्नो करिअरमा केही यस्ता फिल्म अस्वीकार गरिन्, जसको अहिले उनलाई निकै पछुतो हुने गरेको छ ।
उनलाई सबैभन्दा ठूलो पछुतो शाहरुख खानको सुपरहिट फिल्म ‘चक दे इन्डिया’ (२००७)मा अभिनयको प्रस्ताव अस्वीकार गरेकोमा छ । वेब सिरिज ‘अपरेसन सफेद सागर’मा काम गर्ने अवसर हातबाट फुत्किएकोमा पनि उनलाई थकथकी छ । उनी यी दुई प्रोजेक्टमा काम गर्ने प्रस्ताव अस्वीकार गर्नुलाई आफ्नो करिअरकै ठूलो गल्ती मान्छिन् ।
हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘कहिलेकाहीँ आफूले अस्वीकार गरेका अवसर सम्झिँदा के गुमाएछु भन्ने महसुस हुन्छ । ‘चक दे इन्डिया’ र ‘अपरेसन सफेद सागर’ त्यस्तै दुई अवसर हुन्, जसलाई लिएर मलाई पछुतो छ । म सधैँ एउटा राम्रो खेलकुदमा आधारित फिल्म र सैन्य विषयवस्तुको फिल्म गर्न चाहन्थेँ । तर, यी दुवै ठूला अवसर मेरो हातबाट फुत्किए ।’
नेहाले सन् २००३ मा फिल्म ‘कयामत : सिटी अन्डर थ्रेट’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनको करिअरको टर्निङ पोइन्ट भने ‘जुली’ (२००४)लाई मानिन्छ । यसमा बोल्ड भूमिका निभाएपछि उनी चर्चामा आएकी थिइन् । त्यसपछि उनले ‘क्या कूल हैं हम’, ‘सिंह इज किङ’, ‘ब्याड न्यूज’, ‘गरम मसाला’, ‘दे दना दन’ र ‘तुम्हारी सुलु’लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् ।

