

महोत्सवमा फिल्मका चर्चित कलाकारहरु पुग्दा दर्शकको भीड थामिनसक्नु हुन्छ । उनीहरुको एक झलक हेर्नकै लागि घन्टौं कुर्छन् । तर, त्यही भीड त्यही कलाकारको फिल्म प्रदर्शन हुँदा किन हलमा देखिँदैन ? यो अहिलेको सबैभन्दा सोचनीय विषय हो । यदि महोत्सवमा कलाकारका लागि देखिने दर्शकको भीड हलमा पनि देखिन्थ्यो भने सम्भवतः वर्षमा फ्लप फिल्म खोज्न नै गाह्रो पर्थ्यो ।

यही शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री रानी मुखर्जी अभिनीत फिल्म ‘मिसेज चटर्जी भर्सेस नर्वे’ र चर्चित कमेडियन कपिल शर्मा स्टारर फिल्म ‘ज्विगाटो’ दुवै घरेलू बक्सअफिसमा दुई रेक्टरको भूकम्प जस्ता भएका छन्, आएको र गएको पत्तो नहुने । दुवै फिल्मले लगानीको एक तिहाइ पनि नउठाउने देखिन्छ । यी दुई फिल्मलाई भारतीय मिडियाले ‘फ्लप’को ट्याग दिइसकेका छन् ।

एउटा विश्वासिलो ब्रान्ड बनिसकेको नाम हो, ‘नाईं नभन्नू ल’ । यसका श्रृंखलामा को कलाकार छन् भन्ने कुराले त्यत्ति महत्त्व राख्दैन । किनकि, यो नाम आफैंमा फिल्म चलाउनका लागि काफी छ । यसैले त पाँचवटा श्रृंखलाले घरेलू बक्सअफिसमा उल्लेख्य कमाई गरे । दर्शक रुवाउने सिरिजको रुपमा चिनिएको यो फिल्मको छैटौं श्रृंखला आगामी बैशाख १ गते (नयाँ वर्ष)देखि प्रदर्शन हुँदैछ ।

आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको ‘मार्सी धान’ बोलको लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनराजकै शब्द तथा संगीत छ । विवाहको परिवेशमा तयार पारिएको गीतको अडियो र भिडियो पक्ष बलियो छ ।

सविन अधिकारीको निर्देशनमा तयार भएको फिल्म ‘गणपति’को आगामी वर्षको जेठ ५ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मंगलवार पोस्टर सार्वजनिक गरिएको छ । भगवान् गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको पुरुष पात्रलाई ध्यान गरिरहेको अवस्थामा चित्रण गरिएको पोस्टरको पृष्ठभूमिमा फिल्मका प्रमुख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान निकै गम्भीर मुद्रामा प्रस्तुत छन् ।

