
फिल्म ‘नाईं नभन्नू ल’को पाँचौं सिरिजको चर्चित गीत ‘तिम्रो आँखामा आँखा जुधाई’लाई मेल भर्सनमा तयार गरेर फिल्म ‘नाईं नभन्नू ल ६’मा समावेश गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक गीतमा गायक प्रताप दासको स्वर छ । फिमेल भर्सनमा भने मेलिना राईको स्वर थियो । यद्यपि, मेल भर्सनको गीतको केही हरफ परिवर्तन गरिएको छ भने संगीत पनि फिमेल भर्सनभन्दा फरक छ ।

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार यूट्युबमा सार्वजनिक ट्रेलर कमेडीले भरिएको छ । दयाहाङ राईको चरित्रले श्रीमती (प्रकृति श्रेष्ठ)को खुसीका लागि सरकारी जागिरमा नाम निकाल्न गर्ने संघर्षमा ट्रेलर घुमेको छ । दयाहाङले आफ्नो एउटा झुट लुकाउन एकपछि अर्को झुट बोल्दा वैवाहिक सम्बन्ध संकटमा परेको पनि ट्रेलरमा देखाइएको छ ।

‘कबड्डी’ सिरिजका लेखक तथा झाँक्रीको भूमिकामार्फत् चर्चामा आएका उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको झन्डै चार मिनेटको ट्रेलरमा सन्तान नहुँदा लिम्बू दम्पती (दयाहाङ राई र मिरुना मगर) बीच उत्पन्न हुने कलह र लिम्बू परम्परामा प्रचलनमा रहेको जारी प्रथालाई देखाइएको छ ।

फिल्म ‘लिलिबिली’बाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा उदाएकी जसिता गुरुङ तीन वर्षदेखि ठूलो पर्दामा देखिएकी छैनन् । २०७६ सालमा प्रदर्शन भएको फिल्म ‘लभ स्टेशन’पछि उनले फिल्म ‘आई एम ट्वान्टी वान’ सम्झौता गरेकी थिइन् । त्यसबेलादेखि जसिताले तन, मन र समय यही फिल्मका लागि खर्चिएकी छन् । ‘एन्टी हिरो’बाहेक उनले अरु फिल्म सम्झौता पनि गरेकी छैनन् ।

स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख सहयोग गरिएको छ । बुधबार कोष समितिले हाल उनीहरुलाई आश्रय दिएको ललितपुरस्थित स्नेही काख पुगेर सहयोग प्रदान गरेको हो । बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले रकम हस्तान्तरण गरे ।

चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र सञ्चारकर्मी तथा निर्माता रवि अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । दुवैले तालुकवाला निकाय सूचना मन्त्रालयबाट नियुक्तिको पत्र बुझिसकेका छन् । पीडित दाङ निवासी हुन् भने अधिकारीको स्थायी घर चितवन हो ।

