
नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमाल गएको एक महिनादेखि अमेरिकामा छन् । उनले अमेरिकाका विभिन्न राज्यहरुमा आयोजना भैरहेका फिल्म महोत्सवदेखि सांगीतिक कार्यक्रममा समेत उपस्थिति जनाइरहेका छन् । यसबीच, उनले भोलि शुक्रबार (जुलाई ७ मा) न्युयोर्कमा आयोजना हुन लागेको ‘अ नाइट अफ नेपाली स्टार्स’ नामक कार्यक्रममा विशेष प्रस्तुति दिने भएका छन् ।

फिल्म ‘जारी’पछि नेपाली फिल्मले घरेलू बजारमा लय गुमाएको छ । हिट फिल्मको सिक्वेल तथा सिरिजले समेत हलमा घुँडा टेके । अघिल्लो हप्ता प्रदर्शित फिल्म ‘परस्त्री’प्रति ठूलो अपेक्षा राखिएको थियो । तर, बलियो ‘वर्ड अफ माउथ’ प्राप्त नहुँदा फिल्मको प्रदर्शन विर्सनलायक बनेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार पहिलो हप्तामा फिल्मको नेट कमाई ७ लाख पनि छैन ।

गायक तथा संगीतकार कोशिश क्षेत्रीले आफूलाई अभिनयमा पनि प्रमाणित गरिसकेका छन् । अब उनी फिल्मको निर्देशक बनेका छन् । उनले हरर-लभस्टोरी कथामा फिल्म ‘बाइरोड’को निर्देशन गरेका छन् । फिल्ममा उनी स्वयंको लेखन, निर्माण तथा अभिनय छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छन् । गत वर्ष नै फिल्मको छायांकन पूरा भैसकेको छ ।

भर्सटायल अभिनेता सौगात मल्ल अहिले करिअरको उचाइँमा छन् । गत वर्ष ‘दुई नम्बरी’ र ‘कबड्डी ४’ सफल भएपछि उनको माग चरमचुलीमा छ । अहिले उनको पाइपलाइनमा एक दर्जन फिल्म रहेको जानकारी प्राप्त छ । केही दिन अगाडि मात्र उनले फिल्म ‘अगस्त्य’को पहिलो चरणको छायांकन पूरा गरे । अब उनले १० केजी तौल बढाएपछि फिल्मको दोस्रो चरणको छायांकन हुनेछ ।

आफ्ना अभिव्यक्तिका कारण अक्सर विवादमा आउने गरेकी अभिनेत्री तथा एलिजा फाउन्डेसनकी प्रमुख एलिजा गौतमले सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेकी छन् । गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले बिहीबार फेसबुकमा एक पोस्टमार्फत् राजनीतिबाट विदा लिएको जानकारी गराएकी हुन् । उनले अब समाज सेवालाई निरन्तरता दिने उल्लेख गरेकी छन् ।

यही असार ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अन्तिम संस्कार’ले अपेक्षाकृत कमाई गर्न सकेको छैन । लगातारको वर्षाको असर पनि फिल्मलाई परेको देखिन्छ । प्रदर्शनभन्दा अगाडि फिल्मको टिमले कलेज-कलेजमा प्रचार अभियान चलाएको थियो । दोस्रो हप्तामा कलेज प्रचार अभियानको प्रभाव देखिन थालेको छ । विभिन्न कलेजका विद्यार्थीहरुले हलमा पुगेर फिल्म हेर्न थालेका छन् ।

