
पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा प्रस्तुत गरेको बजेटमा यसपटक फिल्म क्षेत्र खासै प्राथमिकतामा पर्न सकेन । दोलखामा फिल्म सिटी र बनेपामा स्टुडियो निर्माणको विषयलाई नै यसपटकको बजेटमा पनि समावेश गरिएको छ ।

गत वर्षको बैशाखमा गोरखाको लाप्राकमा आयोजना भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराइयो । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले बताए ।

‘विजयपथ’, ‘आवेग’, ‘मेला’, ‘राजनीति’ आदि फिल्मका निर्देशक वसन्त निरौलाले नयाँ फिल्म ‘ज्वाइँ साब’को निर्देशकीय जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले सोमबार खोटाङको धार्मिकस्थल हलेसी महादेव मन्दिरमा पूजाआजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुति रहेको फिल्मको छायांकन केही महिनापछि सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।

गत वर्षको भदौ १० गते प्रदर्शनमा आएको फिल्म ‘द सेक्रेट्स अफ राधा’लाई चार दिनमै निर्माताले हलबाट उतारेका थिए । हलले शोज बाँडफाँडमा अन्याय गरेको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो । त्यही बेला निर्माता तथा निर्देशक सुवर्ण थापाले अनुकूल समय हेरेर फिल्मलाई पुनः रिलिज गरिने बताएका थिए । अब आगामी भदौ २९ गते फिल्म पुनः प्रदर्शन हुने भएको छ ।

गत बैशाख २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले उम्दा प्रतिक्रियाका बावजूद दर्शकको राम्रो साथ पाउन सकेन । दोस्रो हप्ताबाट प्रायः मल्टीप्लेक्सहरुले फिल्मलाई उतारेका थिए । तर, सुन्धारास्थित सिडिसी सिनेमामा भने फिल्मले एक शो पाइरहेको थियो । दोस्रो हप्तामा एउटा मात्र हलमा चलेको फिल्मलाई तेश्रो हप्तादेखि सिडिसी सिनेमाले नै एक शो थपेर दुई शो बनाएको छ ।

नेपाली फिल्ममा सबैभन्दा बढी रुचाइएको जोडी हुन्, राजेश हमाल र करिश्मा मानन्धर । फिल्म ‘भाउजु’मा पहिलो पटक एकसाथ काम गरेका उनीहरुको त्यसपछि दर्जनौं फिल्ममा जोडी बाँधियो । उनीहरुको केमेस्ट्री यतिसम्म मिलेको थियो कि दर्शकहरुले ‘रियल कपल’ नै ठान्थे । त्योबेला फिल्मको हिरो-हिरोइन भनेका राजेश हमाल र करिश्मा मानन्धर मात्र हुन् भन्ने आमबुझाइ थियो ।

