
एउटा घटनाका कारण एक वर्ष जेल जीवन विताएर गत फागुनमा रिहा भएका अभिनेता पल शाहले फिल्म ‘मायावी’बाट कमब्याक गर्दैछन् । फिल्ममा उनको जोडी अभिनेत्री दीपिका प्रसादसँग बाँधिएको छ । दशैंका लागि ‘ब्रेक’ लिँदै बुधबारबाट फिल्मको पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकन दशैंलगत्तै पोखरा र भारतको बैंग्लोर तथा मुम्बईमा हुने जनाइएको छ ।

एकातिर ब्रान्ड भ्यालु र अर्कोतिर दशैंको ६ दिन लामो विदा भएकाले फूलपाती अर्थात् कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बम्पर कमाई गर्ने निश्चित छ । फिल्मप्रति दर्शकको क्रेजलाई मध्यनजर गर्दै मंगलबारदेखि देशभरका अधिकांश मल्टीप्लेक्सहरुले बुकिङ खुलाइसकेका छन् । र, टिकट सुरक्षित गर्नेहरुको संख्या ठूलो मात्रा देखिएको छ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि अब यसको तेस्रो श्रृंखला निर्माण गरिँदैछ । कात्तिक १३ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा अघिल्लो श्रृंखलाका कलाकारहरु विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत नै दोहोरिँदैछन् भने थपिनेमा हरिवंश आचार्य छन् । अब थप तीन कलाकारहरु दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्गदेल पनि फिल्ममा जोडिएका छन् ।

दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको नारायण रायमाझीद्वारा निर्देशित फिल्म ‘परदेशी २’को कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माताले मंगलबार सार्वजनिक गरेको पोस्टरमा फिल्मको चार दिने (सोमबारसम्म) कलेक्सन १ करोड ९८ लाख ग्रस उल्लेख छ । अर्थात् निर्माताले झन्डै २ करोड दाबी गरेका छन् । शनिबार र आइतबार फिल्मको कमाई राम्रो थियो ।

सत्यराज चौलागाईंको निर्देशन रहेको फिल्म ‘बिच्छेद’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमा सार्वजनिक १ मिनेट ११ सेकेण्ड लम्बाईको टिजर मुकुन भुषाल र लक्ष्मी बर्देवाको वरिपरि घुमेको छ । डिभोर्स गरिसकेका मुकुन र लक्ष्मीको जीवनमा आउने उतार-चढावको कथामा फिल्म केन्द्रित रहेको टिजरले संकेत गर्छ । फिल्म आगामी मंसिर ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।


