
फिल्म ‘जारी’पछि नेपाली फिल्मले घरेलू बजारमा लय गुमाएको छ । हिट फिल्मको सिक्वेल तथा सिरिजले समेत हलमा घुँडा टेके । अघिल्लो हप्ता प्रदर्शित फिल्म ‘परस्त्री’प्रति ठूलो अपेक्षा राखिएको थियो । तर, बलियो ‘वर्ड अफ माउथ’ प्राप्त नहुँदा फिल्मको प्रदर्शन विर्सनलायक बनेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार पहिलो हप्तामा फिल्मको नेट कमाई ७ लाख पनि छैन ।

गायक तथा संगीतकार कोशिश क्षेत्रीले आफूलाई अभिनयमा पनि प्रमाणित गरिसकेका छन् । अब उनी फिल्मको निर्देशक बनेका छन् । उनले हरर-लभस्टोरी कथामा फिल्म ‘बाइरोड’को निर्देशन गरेका छन् । फिल्ममा उनी स्वयंको लेखन, निर्माण तथा अभिनय छ । फिल्ममा उनको अपोजिटमा अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छन् । गत वर्ष नै फिल्मको छायांकन पूरा भैसकेको छ ।

भर्सटायल अभिनेता सौगात मल्ल अहिले करिअरको उचाइँमा छन् । गत वर्ष ‘दुई नम्बरी’ र ‘कबड्डी ४’ सफल भएपछि उनको माग चरमचुलीमा छ । अहिले उनको पाइपलाइनमा एक दर्जन फिल्म रहेको जानकारी प्राप्त छ । केही दिन अगाडि मात्र उनले फिल्म ‘अगस्त्य’को पहिलो चरणको छायांकन पूरा गरे । अब उनले १० केजी तौल बढाएपछि फिल्मको दोस्रो चरणको छायांकन हुनेछ ।

आफ्ना अभिव्यक्तिका कारण अक्सर विवादमा आउने गरेकी अभिनेत्री तथा एलिजा फाउन्डेसनकी प्रमुख एलिजा गौतमले सक्रिय राजनीतिबाट विदा लिने घोषणा गरेकी छन् । गत माघमा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी उनले बिहीबार फेसबुकमा एक पोस्टमार्फत् राजनीतिबाट विदा लिएको जानकारी गराएकी हुन् । उनले अब समाज सेवालाई निरन्तरता दिने उल्लेख गरेकी छन् ।

यही असार ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अन्तिम संस्कार’ले अपेक्षाकृत कमाई गर्न सकेको छैन । लगातारको वर्षाको असर पनि फिल्मलाई परेको देखिन्छ । प्रदर्शनभन्दा अगाडि फिल्मको टिमले कलेज-कलेजमा प्रचार अभियान चलाएको थियो । दोस्रो हप्तामा कलेज प्रचार अभियानको प्रभाव देखिन थालेको छ । विभिन्न कलेजका विद्यार्थीहरुले हलमा पुगेर फिल्म हेर्न थालेका छन् ।

यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने भएको छ । बुधबार काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक तथा अभिनेता सरोज खनालले फिल्म एकल महिलाको कथामाथि आधारित भएर बनेकाले नेपालमा रहेका १५ लाख बढी एकल महिलाहरुलाई सित्तैमा फिल्म देखाउन लागिएको जानकारी गराए ।

