
नेपाली कलाकारलाई लिएर नेपाली र तेलुगू भाषामा निर्माण भएको फिल्म ‘हिटम्यान’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको पोस्टर रोमान्टिक थिममा तयार छ भने टिजरले एक्सन बोल्छ । पोस्टरमा अभिनेत्री आँचल शर्मा र अभिनेता बिष्णु अधिकारी रोमान्टिक अवतारमा चित्रित छन् । टिजरमा भने आँचल गायब छिन् ।

दुई चकलेटी अभिनेता आर्यन सिग्देल र प्रदीप खड्का पहिलोपटक एकसाथ फिल्ममा देखिने निश्चित भएका छन् । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘पूजार सार्की’मा दुवैलाई मुख्य भूमिकामा प्रस्तुत गर्न लागेका हुन् । आइतबार उनले दुवैसँगको तस्बीर फेसबुकमा साझेदार गर्दै सहकार्यको जानकारी गराएका हुन् । आर्यन र प्रदीपको प्रवेशले फिल्मको स्टारकास्ट बलियो बनेको छ ।

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर बनेको फिल्म ‘अन्जिला’को छायांकन सकिएको छ । छायांकन थालिएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा एन्जिलाकै अन्तिम सिन खिचिएको थियो । एन्जिलाकै जन्मथलो इलामको आइतबारेबाट छायांकन सुरु गरिएको थियो । यसपछि इलाम, झापा र काठमाडौँमा खिचिएको हो ।

ब्लकबस्टर फिल्म ‘कबड्डी’को जोडी दयाहाङ राई र रिश्मा गुरुङ एकपटक फेरि एकसाथ देखिने भएका छन् । गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा बन्ने फिल्म ‘रिमै’मा उनीहरुको जोडी बाँधिन लागेको हो । फिल्ममा दुवै अनुबन्ध भैसकेका छन् । गुरुङ भाषाका चर्चित निर्देशक खिल बहादुर गुरुङ्गको निर्देशनमा बन्न लागेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा लेखन छ ।

अभिनेता पल शाहले एक वर्ष जेल जीवनपछि अभिनयमा कमब्याक गरेको फिल्म ‘मायावी’को छायांकन पूरा भएको छ । मुस्ताङ र पोखराका विभिन्न रमणीय स्थानमा ६० दिन छायांकन भएपछि फिल्म प्याकअप भएको हो । सो अवसरमा निर्माण पक्षले केक काटेर खुशी साटेको थियो । चाँडै फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

फिल्म ‘बुलबुल’बाट निर्देशनमा धाप पाएका विनोद पौडेलले आफ्नो निर्देशनमा बन्ने दोस्रो फिल्मको घोषणा गरेका छन् । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको फिल्मको आइतबार दुईवटा क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएका अभिनेता हरिवंश आचार्य खुसी र दु:खी भावमा पोस्टरमा चित्रित छन् ।

