
नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ युरोप (स्वीडेन)को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ । यही जनवरी २६ देखि फेब्रुअरी ४ तारिखसम्म चल्ने महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जनाइएको छ । यसअघि यो फिल्म टोरन्टो फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभल तथा मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएर प्रदर्शन भैसकेको छ ।

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’मा कलाकारको लाइनअप बलियो बन्ने देखिएको छ । आगामी वर्षको जेठदेखि छायांकन सुरु गर्न लागिएको फिल्ममा प्रदीपपछि अभिनेत्री आना शर्मा भित्रिएकी छन् । उनीसँग निर्माण टिमले यसै साता कागजी सम्झौता गरेको स्रोतले जानकारी गराएको छ । अब पहिलोपटक प्रदीप र आना फिल्ममा जोडीको रुपमा प्रस्तुत हुनेछन् ।

आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै ‘कुशुमे रुमाल’का निर्माता उद्धव पौडेलले कोशी प्रदेशबाट उम्मेदवारी दिएका छन् । उनी राप्रपाबाट उम्मेदवार बनेका हुन् । अब उनको गठबन्धनका उम्मेदवार कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारीसँग प्रतिस्पर्धा हुनेछ । उनी चाबहिलमा रहेको गोपीकृष्ण हलका मालिक समेत हुन् ।

नयाँ छिमलका ‘स्टार’ अभिनेता प्रदीप खड्का जुन फिल्ममा जोडिन्छन्, त्यस फिल्मकी अभिनेत्रीसँग अक्सर उनको नाम जोडिन्छ । ‘प्रेमगीत’ गर्दा पूजा शर्मासँग र ‘लिलिबिली’ गर्दा जसिता गुरुङसँग उनको अफेयरको चर्चा चलेको थियो । रिल र रियल दुवैमा राम्रो ‘बोन्डिङ’ देखिँदा यसखालको चर्चा हुने गरेको पाइन्छ । यस्तै ‘बोन्डिङ’ अहिले प्रदीपको अभिनेत्री परीक्षा लिम्बूसँग देखिएको छ ।

यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको धनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ले प्रिमियरमा सुखद् प्रतिक्रिया प्राप्त गरेको छ । बाबु-छोरीको सम्बन्धको कथामा बनेको फिल्मको कथावस्तु र कलाकारको अभिनयको फिल्मकर्मीहरुले प्रिमियरमा प्रशंसा गरे । चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले फिल्मले आफूलाई ‘इमोसनल’ बनाएको बताएका छन् ।

मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘गोर्खा वारियर’ अब सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्मलाई आगामी फागुन ११ गते (२३ फेब्रअरी)बाट प्रदर्शन गर्न लागिएको हो । गोर्खा सैनिकको बहादुरीको कथामा आधारित फिल्मको गत भदौमा बेलायतस्थित प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर गरिएको थियो । ‘ब्रिटिश एकेडेमी फिल्म अवार्ड’ (बाफ्टा)मा समेत फिल्म छानिएको छ ।

