
ट्राभल-लभस्टोरी कथामा बनेको फिल्म ‘लण्डन टू पेरिस’को डान्सिङ शैलीको नयाँ गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । गीतमा बियोण्डको संगीत र शब्द रचना छ भने बियोण्ड र प्रविसा अधिकारीको युगल स्वर छ । लांगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कबीर खड्का, मनिष गान्धी र रुष्मा थापा नृत्य गर्दै देखिएका छन् ।

गत हप्ताका दुई फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’को भिडन्तले फिल्म क्षेत्र राम्रै गर्मायो । दुवैमा अहिलेका ‘स्टार’ कलाकारको अभिनय भएकाले यसलाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको थियो । यी दुई फिल्मले शनिबारसहित तीनवटा विदा भेटेका थिए । र, विदामा दुवैले राम्रो कमाए । तर, दोस्रो हप्तामा प्रवेश गर्दा पनि दुवै फिल्मका निर्माताले व्यापार सार्वजनिक गर्न सकेका छैनन् ।

वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ । शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । चित्लाङको सेड्युल २० दिनको राखिएको छ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ ।

अघिल्लो हप्ता प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले पहिलो हप्ता घरेलु बजारमा उत्साहप्रद व्यापार गर्यो । आज बिहीबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले शोज संख्या घट्न दिएको छैन । जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथामा बनेको फिल्मले ‘वर्ड अफ माउथ’ राम्रो पाएको छ । यसैले आगामी दिनमा पनि फिल्मको व्यापार स्थिर रहने विश्वास निर्माण टिमको छ ।

‘होस्टेल रिर्टन्स’ फेम्ड अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्म ‘आउट ल : दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार एक फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिनलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । यो फिल्मको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको हुनसक्ने देखिन्छ ।

आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाईको ट्रेलरले बदलाको कथामा फिल्म केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमा अभिनेत्री पूजा शर्मा हाबी छिन् । उनको चरित्रमा ‘हिरोइज्म’ देखिन्छ । कयौं गुन्डासँग उनी एक्लै भिडिरहेकी छन् ।

